वि.सं.२०८३ वैशाख २६ शनिवार

नेपाल रेडक्रस सोसाइटीको आगामी निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित

khanepani

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको आगामी निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

सीडीओ कार्यालयको निर्देशनपछि रेडक्रस केन्द्रीय कार्यालयले आइतबार परिपत्र जारी गर्दै निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू यथास्थितिमा राख्ने निर्णय गरेको हो । रेडक्रसले आगामी असार मसान्तसम्म सबै तहको निर्वाचन सम्पन्न तयारी गरेको थियो ।

जसअन्तर्गत पालिका शाखाको निर्वाचन वैशाख २६ देखि जेठ ४ गतेसम्म, जिल्ला शाखाको जेठ १५ गते, प्रदेश समितिको असार २ गते र केन्द्रीय समितिको निर्वाचन असार २४ र २५ गतेका लागि तय गरिएको थियो ।

महामन्त्री मीनबहादुर मल्लले हाल सुरू गरिएको निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्म यथास्थितिमा राख्न निर्देशन प्राप्त भएकाले सोही बमोजिम गर्न भनेका छन् ।

केन्द्रीय कार्यालयले आफ्ना सबै प्रदेश कार्यालय, जिल्ला शाखा र पालिका शाखा समितिहरूलाई पत्राचार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ दिन अघि अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गर्न रेडक्रसलाई निर्देशन दिएको थियो ।

​प्रशासनले निर्वाचन रोक्नुका पछाडि संस्थागत सुधार र शुद्धीकरणको आवश्यकतालाई औंल्याएको छ ।

निर्वाचन प्रक्रिया अघि बढाउनुपूर्व संस्थाको विधानमा यथोचित सम्बोधन सहितको संशोधन गर्ने, नयाँ सदस्यताका लागि खुला आह्वान गर्ने, प्रत्येक तहका प्रतिनिधिको स्वस्थ प्रतिस्पर्धा, सुनिश्चित गर्ने र निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र जवाफदेही बनाउन सीडीओको निर्देशन छ ।

एमाले-कांग्रेसको गठबन्धन सरकारले भागबन्डामा २०८२ साउन ९ गते विनोद कुमार शर्माको अध्यक्षतामा गठित तदर्थ समितिलाई ३ महिनाभित्र नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको थियो।

तर, हालै मन्त्रालयमा भएको छलफलमा तल्लो तहदेखि केन्द्रसम्मकै निर्वाचन प्रक्रिया र अधावधिक स्थितिका बारेमा गम्भीर प्रश्न उठेपछि तत्कालका लागि निर्वाचन रोकिएको प्रजिअ ईश्वरराज पौडेलले बताए ।

ranechhap