काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसी जिल्लामा भएको धार्मिक तनावको घटनामा नागरिकको ज्यान जाने गरी प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै नेता आङ्देम्बेले सरकारसँग उक्त प्रश्नको चित्तबुझ्दो जवाफ माग गरेका हुन्।
उनले उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने समेत माग गरे। घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै क्षतिको यकिन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
साथै, घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ। उनले विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सरकार सुस्त गतिमा काम गरिरहेको भन्दै आलोचना समेत गरे।
बैठकमा बोल्दै उनले भने, ‘सुनसरी, सिरहा, पर्सा र धनुषा लगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्नेबारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
उनले अगाडि थपे, ‘यसबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ।’
उक्त घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले भने, ‘उक्त घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु।’
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले क्षतिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्ने स्पष्ट माग रहेको उनले बताए।
तराईको सुनसरी, सिरहासहितका जिल्लामा उत्पन्न साम्प्रदायिक तथा धार्मिक तनाव कम गर्ने क्रममा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।






































