काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भइरहेको पटक–पटकको मूल्यवृद्धिको विरोध गर्दै तत्काल वैज्ञानिक भाडा समायोजन गर्न वा बढेको मूल्य फिर्ता लिन सरकारसँग माग गरेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा बढेको तनावका कारण देखाउँदै नेपाल आयल निगमले डिजेल र पेट्रोलमा गरेको भारी मूल्यवृद्धिले सार्वजनिक यातायात क्षेत्र धराशायी बन्ने अवस्था आएको बताएको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार मिति चैत २७ र वैशाख २ मा भएको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात र मालवाहक सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको छ ।
विगत २०६५ सालदेखि लागू गरिएको ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत भन्दा बढीले थपघट हुँदा भाडा पनि सोही अनुरूप समायोजन हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुरूप तत्काल भाडा समायोजन गर्न वा मूल्यवृद्धि फिर्ता लिन महासंघले जोडदार माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमबाट पटक–पटक हुने मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन हामी सरकारसँग माग गर्दछौँ ।’
यसैबीच, महासंघले देशभरका आफ्ना सदस्य संघ, समिति र कम्पनीहरूलाई इन्धन खपत कम गर्न र घाटा न्यूनीकरणका लागि आपसमा सहकार्य गर्न आग्रह गरेको छ । व्यवसायीहरूलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न, सरकारले तोकेको भाडा मात्र लिन र यात्रुको चापका आधारमा सेवा सञ्चालन गर्न समेत निर्देशन दिइएको छ ।










































