रूपन्देही । पाल्पाको बगनासकाली गाउँपालिका–७ खानीगाउँस्थित कालीगण्डकी नदीमा मंगलबार डुबेर बेपत्ता भएका दुई युवाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका–९ झिरभञ्ज्याङ निवासी तथा चन्द्र माध्यमिक विद्यालयका २९ वर्षीय शिक्षक तोयानाथ बस्याल (मदन)को शव बुधबार बिहान फेला परेको हो।
यस्तै बगनासकाली गाउँपालिका–९ चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसालको शव बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।
नयाँ वर्ष मनाउन कालीगण्डकी नदीको दैलातुङ क्षेत्रमा पुगेका उनीहरू पौडी खेल्ने क्रममा मंगलबार साँझ करिब ५ बजेतिर डुबेर बेपत्ता भएका थिए।
घटनाबारे स्थानीयले जानकारी दिएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि स्थानीय बासिन्दा, प्रहरी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले नदी किनार तथा आसपास क्षेत्रमा खोजी कार्य तीव्र पारेको थियो।
निरन्तरको खोजीपछि दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए।
बस्याल चन्द्र माध्यमिक विद्यालय चापपानीमा इन्जिनियरिङ विषयका शिक्षक थिए भने भुसाल विदेशबाट छुट्टीमा घर आएका थिए। दुवै जना एउटै टोलका हुन् ।









































