वि.सं.२०८३ वैशाख ९ बुधवार

भदौ २३ बारे ओलीले भने, “हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ”

khanepani

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक बयान दिएका छन् । प्रधानमन्त्रीलाई गोली चलाउने आदेश दिने अधिकार नभएको र त्यस्तो आदेश आफूले नदिएको उनको भनाइ छ ।

केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको भन्दै ओलीले सामाजिक सञ्जालबाट आफ्नो प्रष्टीकरण दिएका हुन् । आफूमाथि लगाइएको आरोप पूर्णरूपमा निराधार रहेको उनले बताएका छन् ।

‘हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ,’ ओलीले भनेका छन् ।

त्यस दिनको दुःखद् घटनापछि आफूले तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाएको उनले स्मरण गरेका छन् ।
उनले भनेका छन्, ‘ज्यान गुमाउन बाध्य भएका १९ जना नानी–बाबुहरूप्रति मेरो गहिरो श्रद्धाञ्जली छ। त्यो पीडा आजसम्म पनि मसँगै छ ।’

माइतीघरबाट शान्तिपूर्णरुपमा सुरु भएको आन्दोलनमा करिब १२ बजेतिर घुसपैठ गर्ने तत्त्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगेको ओलीले बताएका छन् ।

‘आयोजकहरूले बारम्बार घुसपैठ भएको जानकारी दिएर युवाहरूलाई घर फर्किन आग्रह पनि गरे । तर योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्‍याउन खोजे । किनकि उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमण हुन थाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ,’ उनी लेख्छन् ।

संसद भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले ‘आन्दोलन’ होइन, ‘राज्यविरुद्धको हमला’ मान्ने ओलीको टिप्पणी छ । संसद भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको उनले बताएका छन् ।

‘त्यसपछि २ घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ,’ उनी भन्छन्, ‘यदि त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए ? यदि संसद भवन जलेको भए ? के त्यतिबेला पनि ज्यान जाने थिएन ? विस्फोटक सामग्रीसहित आएका उनीहरू त्यसै फर्किन्थे ? ती समूहहरूको उद्देश्य नै अराजकता फैलाएर देशलाई हिंसामा धकेल्ने थियो भन्ने कुरा पछिल्ला घटनाहरूले स्पष्ट देखाउँछ ।’

आफ्नो राजीनामापछि नै सिंहदरबार राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाइएको ओलीले बताएका छन् ।
‘भाइबहिनीहरूलाई थाहा छ- संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै घण्टा हतियारसहित कमब्याट पोजिसनमा उभिएको हुन्छ । उनीहरूले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन् । त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन,’ उनले लेखेका छन् ।

ओली थप्छन्, ‘तपाईँहरूको माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो ? थिएन । वानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो ? थिएन । बालबालिकाहरूलाई घेरेर उनीहरूले यस्तो ठाउँमा पुर्‍याए, जहाँ कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ ।’

आफू खुलारूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको उनले बताएका छन् । सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न सबै नागरिकलाई आग्रह गर्दै उनले १९ जना नानीबाबुको मृत्युप्रति आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।

अन्त्यमा, उनले भनेका छन्, ‘एउटा आग्रह गर्न चाहन्छु, माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो ? यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।’

ranechhap