वि.सं.२०८३ वैशाख ९ बुधवार

पार्टीभित्रको आन्तरिक गुटबन्दी अब पूर्ण रूपमा सकियो, क्रियाशील सदस्यको अधिकार कटौती हुँदैन: गुरुराज

khanepani

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको आन्तरिक गुटबन्दी अब पूर्ण रूपमा अन्त्य भएको दाबी गरेका छन् ।

विराटनगरमा आयोजित पार्टीको चुनावी समीक्षा कार्यक्रममा बोल्दै घिमिरेले क्रियाशील सदस्यहरूको अधिकार कटौती गर्ने कुनै योजना नरहेको स्पष्ट पारे ।

महामन्त्री घिमिरेले पार्टीभित्र सुधारको प्रक्रिया अब अपरिहार्य भएको र यसलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने ‘नेतृत्वप्रति सदस्यहरूको विश्वास घटेमा त्यसको परिणाम निर्वाचनमा नकारात्मक देखिन्छ, त्यसैले सुधार कतै न कतैबाट सुरु गर्नैपर्छ।’

विगतमा कांग्रेसभित्र रहेको चर्चित ‘६०–४०’को भागबण्डा र गुटको राजनीति अब समाप्त भइसकेको उल्लेख गर्दै उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

उनले पार्टी कुनै व्यक्तिको निजी विषय नभएर लाखौँ क्रियाशील सदस्यहरूको साझा संस्था भएको जोड दिए ।

पार्टीलाई नयाँ ढङ्गले पुनर्जीवित गर्न र जनतासँग जोड्न ‘ग्रासरुट’ (तल्लो तह)अभियान सुरु गरिएको जानकारी दिँदै घिमिरेले बीपी कोइरालाको आदर्शलाई स्मरण गरे । ।उनले भने बीपीले राजासँग सम्झौता नगरी सधैँ जनताको पक्षमा उभिए जस्तै अहिलेको नेतृत्व पनि जनताप्रति नै उत्तरदायी हुनुपर्छ ।

पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहेको छ ।

ranechhap