वि.सं.२०८३ वैशाख ९ बुधवार

एमालेले चुनावमा खाएको धक्का चानचुने छैन, तर स्थापित हुन्छौँ : विष्णु पौडेल

khanepani

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत निर्वाचनमा पार्टीले खाएको धक्का र हार चानचुने नभएको बताएका छन् ।

बुधबार पार्टी स्थापना दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले चुनावपछि पार्टीमा चिन्ता र निराशा छाएपनि पार्टी पुनर्गठन गरेर फेरि पनि एमाले जनतामाझ स्थापित हुने बताएका हुन् ।

‘चुनावमा हामी पराजित भएका छौँ, अब धुलो टकटक्याएर उठ्न सक्छौ कि सक्दैनौ ?’ पौडेलले भने,‘म आत्मविश्वासका साथ भन्छु हामी यो आन्दोलन नयाँ ढङ्गले उठाउने छौँ र पार्टीलाई सुद‌ृढ तुल्याउँदै पुनर्गठित गर्नेछौँ ।’ उपाध्यक्ष पौडेलले चुनावमा खाएको धक्का चानचुने नभएको भन्दै तर यो धक्काबाट पाठ सिकेर अगाडी बढ्न सकिने बताए ।

‘त्यसका लागि अव हामी दुई वटा काम गर्नेछौँ । पहिलो पार्टीको आन्तरिक एकतालाई कमजोर हुन दिनेछैनौँ । दोस्रो हाम्रो यात्राको गम्भीर समीक्षा गर्नेछौँ’, पौडेलले भने, ‘२०७२ देखि २०८२ को समीक्षा गर्दा यही बिचमा झण्डै दुई तिहाइ र झण्डै दुई तिहाइ बहुमतको सरकार बनाएका छौ । तर अहिले किन धक्का र असफलता खायौ यसको बाह्य, आन्तरिक र पार्टीका कमजोरीको समीक्षा गर्नेछौँ ।’

एमाले रूपान्तरण गरेर जनताको आलोचना स्वीकार गरेर जनताका माझमा फेरि फर्कने भन्दै उनले पुनर्गठित एमालेले मात्र आजका चुनौती चिर्न सक्ने बताए । पौडेलले अहिले खाएको पराजयलाई सामना गर्न सक्ने सामर्थ्य रहेको भन्दै फेरि नयाँ शिराबाट आन्दोलनलाई उठाएर एमालेकै नेतृत्वमा समाजवादको यात्रा अघि बढाउने बताए।

ranechhap