काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७७ औँ पार्टी स्थापना दिवसमा सहभागी हुने भनिए पनि उनी स्वास्थ्यका कारण उपस्थित भएनन् । यस अघि एमालेले पार्टी केन्द्रीय कार्यालयमा राखिएको कार्यक्रममा अध्यक्ष ओली स्वयं उपस्थित भएर सम्बोधन गर्ने जनाएको थियो । तर, अध्यक्ष ओली स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेको सचिव पदमा अर्यालले कार्यक्रममा जानकारी दिइन् ।
ओली नआएपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष थापाले अध्यक्ष ओलीले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए ।
ओलीले पठाएको सन्देशमा दशकौँ लामो आन्दोलनको विरासत बोकेको एमालेले जबजलाई अङ्गीकार गर्दै देशलाई समृद्ध नेपाल बनाउने गन्तव्य तयार गरेको उल्लेख छ ।
‘यस पार्टीले निरंकुशताको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना आन्दोलनको सफल अगुवाइ गर्यो’, ओलीले भनेका छन्, ‘संविधान सभाबाट जनताको संविधान बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो । राष्ट्रिय स्वाभिमान जोगाउन चुनौतीपूर्ण अवस्थामा पनि दृढताका साथ उभियो ।’
त्यस्तै,ओलीले आजको समयका चुनौती चिर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने र त्यसका लागि सबैले सङ्कल्प गर्नुपर्ने बताएका छन् ।








































