विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण हटाउने निर्णय गरेको छ । अव्यवस्थित फुटपाठ हटाउन महानगरले विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो ।
महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा भएको बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति तय गरेको छ ।
महानगरले सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने भएको हो ।
नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अबदेखि पसलको सटर बाहिर कुनै पनि सामग्री राख्न पाइने छैन ।
निर्माण सामग्री सडकपेटीमा थुपार्न नपाइने, मोटरसाइकल ग्यारेजका सामान बाहिर राख्न निषेध गरिने तथा कवाडी व्यवसाय सञ्चालनका लागि न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ ।
नियम उल्लंघन गर्नेविरुद्ध कारबाहीको प्रक्रिया पनि सँगसँगै अघि बढाइने महानगरले जनाएको छ । महानगरले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाह सुधारसम्बन्धी सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्ने छ ।
प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।







































