सिरहा । सिरहामा प्रहरीको गाडीको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।
सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले २ वर्षीय बालक आयुष मलिकलाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार गस्तीको क्रममा गाडीले बालकलाई छोएपछि उनलाई तत्काल स्थानीय स्तरमै उपचारका लागि लगिएको थियो ।
पीडित पक्षसँगको सहमतिमा थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।
तर घटनाबारे बालकका हजुरबुबा जगदीश मलिकले फरक दाबी गरेका छन् ।
उनका अनुसार बालक गाउँको सडकमा खेलिरहेको बेला प्रहरीको गाडीले ठक्कर दिएको हो । गाडीको ठक्करबा बालक गम्भीर घाइते भएका हुन् ।
उनी मामा घर आएका थिए र घर फर्किने तयारीकै क्रममा उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् ।
घटनापछि घाइते बालकलाई मिर्चैयास्थित मनकामना मिड इस्टर्न अस्पताल लगिएको थियो। प्रहरीले बालकको अवस्था सामान्य रहेको जनाएको भए पनि परिवारले भने अवस्था चिन्ताजनक रहेको बताएका छन् ।







































