काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ टिकट वितरण गर्दा आफूले हस्ताक्षर नगर्ने विषयमा लचिलो बनेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । देउवा र महामन्त्रीद्वय बीचको भेटवार्ताबारे व्रिफिङ गर्दै उनले सो जानकारी दिएका हुन् ।
महतले सञ्चारकर्मीसँग कुरा गर्दै टिकटमा हस्ताक्षर गर्नु ठूलो कुरा नभएको बताए । देउवाको भनाइ उद्वृत गर्दै उनले भने, ‘समानुपातिकमा सबैको छलफलमै सूची पठाइएको छ । पार्टी एकता मेरालागि महत्वपूर्ण हो । मेरो हस्ताक्षर महत्वपूर्ण होइन । कुन नेतालाई दिनुपर्छ निर्णय गरेर दिन तयार छु ।’
उनलेले थपे, ‘मसँग भएको त्यही एउटा टिकटको हस्ताक्षरको अधिकार पनि फिर्ता लिन्छु भन्दा उहाँहरूले सुन्नुभो । संरक्षक भएर बस्नुस भन्नुभो। आखिर उहाँ संरक्षक जत्तिकै त हो नि । हस्ताक्षर पनि फिर्ता लिन तयार छु भनेपछि के चाहिँ बाँकी रह्यो र ।’
यसबारे केन्द्रीय समितिमा ब्रिफिङ हुने महतको भनाइ छ ।‘नेताहरूले के भन्नुहुन्छ । त्यसको आधारमा निर्णय हुन्छ,’ उनले भने ।
महतका अनुसार देउवाले आफूलाई चुनावमा भाग लिन नदिन खोजेको हो भनेर सोधेका थिए । महामन्त्रीद्वयले त्यस्तो आशय नभएको प्रष्ट्याए।
‘मलाई यो चुनाव नलड भनेको हो ? भनेर सोध्नुहुँदा महामन्त्रीहरुले त्यो त भनेको हैन भन्नुभो उहाँहरूले,’ उनले सुनाए ।









































