वि.सं.२०८३ साउन १५ शुक्रवार

जनयुद्धकी घाइते योद्धा शाहीको नेताहरूलाई पत्र, पार्टीको नाम मेटिँदा मुटुमा राँको बलिरहेछ

khanepani

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन परिवर्तन गरेकोमा जनयुद्धकी घाइते योद्धा मीना कुमारी शाही शुभेच्छाले असन्तुष्टि पोखेकी छिन् ।
माओवादीले नेकपा एकीकृत समाजवादी सहित ९ वटा वामपन्थी दलसँग मिलेर बुधबार नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको थियो । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले जुन पार्टीमा त्याग तपस्या र बलिदान गरेको त्यही पार्टीको नाम निसानै नरहेकोमा असन्तुष्टि पोखेकी हुन् ।

‘साँच्चै नै आज मुटुमा राँको बलिरहेको छ । जुन पार्टीमा त्याग तपस्या र बलिदान गरियो, आज त्यही पार्टीको नाम निशान नै नरहँदा कता–कता यस्तो लाग्दैछ आफ्नो भविष्य बिगारेर जनयुद्धमा बेकारमा लागिएछ जस्तो आजको यो दिनमा आउँदा अनुभूति हुन्छ । आफ्नै शरीरबाट बगेको रगतले आज आफैलाई धिक्कारे जस्तो लाग्दैछ । आखिर के पायौँ त म जस्ता इमानदार र सोझा हजारौँ घाइते अपाङ्गहरूले ?’, पूर्वमाओवादी नेताहरूलाई उनले प्रश्न गरिन् ।

लाभ लिनेले बेला बेला लिइरहेको तर जहिले पनि आफू जस्ता सोझा र इमानदार कार्यकर्ताहरू ओझेलमा परिरहेको गुनासो पोखिन् ।

सेना समायोजन प्रक्रियामा स्वैच्छिक अवकाश लिएर बाहिर निस्किए पछि आफू कुनै पनि सङ्गठनमा नबसे पनि आफैले लडेका वीरतापूर्वक इतिहास सम्झेर गर्व लाग्ने गरेको शाहीको भनाइ छ ।

‘माओवादी नाम सुन्दा पनि आनन्द लाग्थ्यो तर अब माओवादी नाम नै नरहने गरी आ–आफ्नो स्वार्थको लागि नेता भनाउँदाहरूले सकाए’, उनको दुःखेसो छ ।

यस्ताे छ स्ट्याटस

भुपु माओवादी नेतागणहरु
लालसलाम ।
कुन शब्दबाट सुरु गरुँ र कहाँ पुगेर अन्त्य गरुँ कुनै मेसो पाउन सकेकी छैन , रनभुल्ल परेकि छु , यस्तो चक्रब्युहमा फसेकि छु कि के लेख्ने के नलेख्ने । लामो समय पछि अतीत तिर फर्किन मन लाग्यो ,युद्धकालमा जीवन मरणको महान अभियानको बिचमा मैले जत्ति बुझे र जानेकि थिए त्यति नै युद्ध सस्मरणको रुपमा जस्ताको त्यस्तै डायरिमा उतारेकि थिए ,आज आफैले लेखेका तिनै युद्ध सस्मरणहरुले मलाई नै प्रश्न गरिरहेका छन् । जिन्दगीको चक्र नै यस्तै रहेछ , जहाँ आशा, निराशा सम्भावना, छट्पटी ,आवेग र संवेग सबै कुरा एकसाथ । समयले एकपछि अर्को पाठ सिकाउदै जाने रहेछ मान्छेको जिवनलाई , मलाई पनि आज आएर आफ्नै जीवन यात्राको बिगत तिर फर्किन बाध्य बनायो , जो अहिले देशमा राजनीति चहलपहलले तहल्का मच्चाएको छ , यसले गर्दा मलाई मात्रै नभई हजारौं घाइते अपांगहरु , सहिद परिवाहरु , वेपत्ता परिवारहरु र युद्धकालमा त्याक, तपस्या , र बलिदान दिने महान जनता ,शुभचिन्तकहरुलाई निराशाको कालो बादलले ढाँकेको छ , सन्नाटा छाएको छ , १३ वर्षकै कलकलाउदो उमेरमा जन्म दिने आमा बुवालाई छोडेर , उज्ज्वल भबिस्य लाई धरापमा पार्दै किताव कापीहरु थन्क्याएर मुक्ति वा मृत्युको कसम खादै बाल्यकालमा नै जनयुद्धमा हाम फालियो , कति दुख भोगियो आज त्यो क्षण सम्झिदा आफै झसङ्ग हुन्छु ती दुःखमा मैले खेले अनि संघर्षको जीवनमा जिते जस्तो लाग्छ , जनयुद्धमा नै बाल्यकाल र जवानी पनि बित्यो । यहि पार्टीमा हाम्रो बाल्यकाल देखि नै पसिना र रगत बग्यो , भौतिक शरीर अंगभंग बन्यो, जो अहिले पनि भोगिरहेकि छु , शरीर भरि टुइन्च मोटारका बिशालु छर्राहरु बोकिरहेकि छु , चहर्याईरहने घाउ नै घाउ भएको शरीरमा बाँचिरहेकीछु र घाइते शरिर जनयुद्धको उपहार सम्झेर समाहालेर राखेकि छु । साँच्चै नै आज मुटुमा राँको बलिरहेको छ , जुन पार्टीमा त्याग तपस्या र बलिदान गरियो आज त्यहि पार्टीको नाम निशान नै नरहदा कता–कता यस्तो लाग्दैछ आफ्नो भविस्य बिगारेर जनयुद्धमा बेक्कारमा लागिएछ जस्तो आजको यो दिनमा आउँदा अनुभुती हुन्छ , आफ्नै शरीरबाट बगेको रगतले आज आफैलाई धिक्कारे जस्तो लाग्दैछ, आखिर के पायौं त म जस्ता इमानदार र सोझा हजारौं घाइते अपांगहरुले ? लिने ले त बेला बेला र मौका मौकामा लाभ लिएकै छन , ताक परे तिवारी नत्र गोतामे भने झै , तर जहिले पनि हामी सोझा र इमानदार कार्यकर्ताहरु ओझेलमा परिरहयौ , मारमा परिरहयौ , यसो भन्दै गर्दा सेना समायोजनको प्रकृया पछि म स्वैच्छिक अवकाश लिएर बाहिर निस्किए पछि म कुनै पनि संगठनमा बसिन ! त्यहि पनि गर्व लाग्थ्यो आफैले लडेका विरतापुर्वक इतिहास सम्झेर , तर अब त त्यहि गर्व गर्ने बाटो पनि रहेन माओवादि नाम सुन्दा पनि आनन्द लाग्थ्यो तर अब माओवादी नाम नै नरहने गरि आ–आफ्नो स्वार्थको लागि नेता भनाउदाहरुले सकाए हुन त नेताहरुलाई के छुन्छ होला र? प्रत्यक्ष फिल्डमा लड्ने, मर्ने , र दुख गर्ने त हामी जस्ता सोझा इमानदार योद्धाहरु थियौ , रगतका आहालमा डुबेर कयौं साथिहरु र आफन्तहरु आफ्नै आँखा अगाडि युद्ध मोर्चामा गुमायौ , त्यो पीडा हामीलाई छ , हाम्रो मन दुखिरहेको छ , हाम्रो छाति चर्किएको छ, मुटु पोलिरहेको छ, यसरी सकिनु नै थियो भने हिजो त्यत्रो नाटक के को लागि थियो?? गरिव जन्ताका छोराछोरीहरुलाई मर्न र मार्न किन बाध्य पारियो ?? तर तिमिहरुको पनि हिसाब किताब गर्ने छ गौरवशालि इतिहासले , पोल्ने छ हजारौ शहिदहरुको रगतले , सराप लाग्ने छ सहिद परिवार र बेपत्ता परिवारको , अनि खिया लाग्नेछन तिम्रा बिचारहरु , अनि नमज्जाले बजारिने छन तिम्रा रेलगाडी हरु ,,।
उहीँ शुभचिन्तक घाइते योद्धा
मिना कुमारी शाही ( क . शुभेच्छा )

ranechhap