दाङ । दाङका एक युवाले माटोको फिल्टर उत्पादन गरेर वार्षिक करिब १० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
उनले परम्परागत सिपलाई आधुनिक रूप दिँदै माटोको पानी छान्ने फिल्टर बनाएर वार्षिक आम्दानी १० लाख रुपैयाँ आम्दानी गरिरहेको बताए ।
गढवा गाउँपालिका वडा नम्वर ६ गढवाका लीलाराम कुमालले परिवारसँगै विगत १५ वर्षदेखि माटोका विभिन्न भाँडासँगै फिल्टर बनाउँदै आएका छन् ।
सुरुमा पाला, घैँटा, भुर्की, गमलालगायतका परम्परागत भाँडा बनाउने यो परिवारले अहिले बजारको माग अनुसार माटोको फिल्टर उत्पादन गर्दै आएको छ ।
माटोको फिल्टर सस्तोमा पाइने र स्वास्थ्यका दृष्टिले समेत राम्रो हुने भएकाले व्यापार राम्रो भइरहेको कुमाल बताउँछन् । गर्मी मौसममा माग बढ्ने हुँदा वार्षिक रूपमा एक हजार रुपैयाँ दरले १ हजार बढी फिल्टर बिक्री गर्ने गरेको उनको भनाइ छ ।
‘तथ्याङ्कका रूपमा ठ्याक्कै यति भन्ने छैन । तर, वर्षमा १ हजार फिल्टर १ हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ ।’ उनले भने । उनका अनुसार फिल्टर दाङसँगै बुटवल, नारायणघाट, कोहलपुर र सुर्खेतसम्म निर्यात गरिन्छ ।
माटोको फिल्टरको माग बढ्दै गएपछि उनले दुई जनालाई रोजगारी समेत दिएका छन् । दुई जना कामदारलाई महिनामा ३७ हजार रुपैयाँ तलब दिने गरेको उनले बताए ।
माटाका भाँडा अन्य भाँडा जस्तो नियमित बिक्री नहुने भएकाले महिनामा ठ्याक्कै यति आम्दानी हुन्छ भन्न नसकिने अवस्था रहे पनि सबै खर्च कटाएर ४० देखि ५० हजार रुपैयाँसम्म बचत हुने गरेको उनी बताउँछन् ।









































