कैलाली । नेकपा (एमाले) को जन वर्गीय सङ्गठन भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन कैलालीको टीकापुरमा सुरु भएको छ ।
महाधिवेशनमा सहभागी हुन देशभरका ६४ जिल्लाबाट करिब ६०० प्रतिनिधिहरू टिकापुर पुगेका छन् । उद्घाटन समारोहका दशौँ हजारको सहभागिता रहेको आयोजनाको दाबी छ । महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गरेका छन् ।
उद्घाटन समारोहमा महासचिव पोखरेलसहित सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा जन सङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, कञ्चनपुर इन्चार्ज निरु पाल, लीला भण्डारी, केन्द्रीय सदस्य झापटबहादुर रावल, विष्णु रिजाल लगायत नेता कार्यकर्ताहरूको सहभागिता रहेको छ ।
उद्घाटन समारोहमा सङ्गठनकी केन्द्रीय अध्यक्ष शान्ता चौधरीले टिकापुरमा भएको ऐतिहासिक महाधिवेशनले एमालेको क्रेज अझै बढेको ,जनतामा एमालेको मोह थप बढेको बताइन् ।
टीकापुरमा मात्र करिब ९,९०० जनाले भूमि आयोगमा जग्गा पाउन आवेदन दिएका छन् । यही सन्दर्भलाई विशेष प्राथमिकता दिँदै महाधिवेशन स्थलको रूपमा टीकापुरलाई चयन गरिएको हो । उद्घाटन सत्रमा विभिन्न जातीय तथा सामाजिक समूहको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
महाधिवेशनमा भूमि अधिकार सुनिश्चित गर्न नीति निर्माण र संशोधनमा गर्ने, सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउने, लगायतका विषयमा छलफल हुने छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।









































