काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पूर्वसभापति शेरबहादुर देउवा समूहले शुक्रवारसम्म सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिए एकताको वातावरण बन्ने बताएका छन्।
पार्टी बैठकमा बोल्दै नेता आचार्यले पार्टीको बृहत्तर एकताका लागि क्रियाशील सदस्यताका सन्दर्भमा आफूहरूले लचकता अपनाएकाले इतर पक्षले मुद्दा फिर्ता लिनुपर्ने बताए।
उनले भने, ‘अदालतमा पुनरावलोकनको मुद्दा बोकेर जानुभएका श्रद्धेय नेताहरू पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ र पार्टी विभाजनका लागि उद्यत हुनुहुन्न भने पाँच दिन भित्र (आगामी शुक्रवारसम्म) मुद्दा फिर्ता लिएर पार्टी एकताको पूरक वातावरण बनाउनेतर्फ कदम चाल्न अनुरोध गर्दछु।’
यी हुन् बैठकमा उनले राखेका १४ बुँदे धारणा–
१. नेपाली कांग्रेसले भोटेकोसी बाढीको सन्दर्भमा डे–वानदेखि जुन भूमिका खेल्यो, जिम्मेवार प्रतिपक्षको गरिमा बढाएको छ। राहत र उद्धार कर्ममा वर्तमान सरकार अपरिपक्व, असफल र पूर्वाग्रही देखिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिको बाढी प्रभावित क्षेत्रमा रातोदिनको खटाई र भूमिकाको भने उच्च सह्राना गर्नुपर्दछ।
वर्तमान सरकारले स्थानीय र प्रदेश सरकारको संवैधानिक महत्वलाई उपेक्षा गरेका कारण पीडितलाई झन् पीडित बनाएको छ।
सरकारको तत्कालीन रणनीतिक कमजोरीका कारण हजारौँ नागरिक बेलैमा उद्धार नपाएर ज्यान गुमाउँदै छन्। राष्ट्रिय विपद्को बेलामा सरकारले प्रदर्शन गरेको यस्ता गलत प्रवृत्तिको जोडदार प्रतिकार गर्न जरुरी छ। पार्टीले यतिखेर जलवायु न्याय र नमुना एकीकृत बस्ती विकासको मुद्दालाई प्राथमिकतासाथ उठाऔँ।
२. पार्टीको बृहत्तर एकताका लागि क्रियाशील सदस्यताका सन्दर्भमा हामीले लचकता अपनाएर बलियो कदम अगाडि बढायौँ।
अदालतमा पुनरावलोकनको मुद्दा बोकेर जानुभएका श्रद्धेय नेताहरू पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ र पार्टी विभाजनका लागि उद्यत हुनुहुन्न भने पाँच दिन भित्र (आगामी शुक्रवारसम्म) मुद्दा फिर्ता लिएर पार्टी एकताको पूरक वातावरण बनाउनेतर्फ कदम चाल्न अनुरोध गर्दछु।
३. प्रत्येक वर्षको महासमिति बैठक अगाडि केन्द्रले नै प्रदेश भेला, जिल्ला सभापति भेला, प्रतिनिधिसभा सभापति भेला, प्रदेशसभा सभापति भेला, पालिका सभापति भेला र वडा सभापति भेला (प्रदेशगत) आयोजन गर्ने व्यवस्था गरौँ।
४. नेपाली कांग्रेसको प्रत्येक तहको नेता सोझै क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट निर्वाचित हुने व्यवस्था गरौँ। यसले नेतृत्व र सदस्य बीच सोझो र पारदर्शी सम्बन्ध स्थापित गर्दछ। नेतृत्वलाई थप उत्तरदायी बनाउँछ र अपनत्व वृद्धि गर्दछ।
५. पार्टीको विधानमा क्रियाशील सदस्यदेखि केन्द्रीय सभापतिसम्म सबैको काम, कर्तव्य र अधिकार तोकिएको छ। बैठक प्रणालीको व्यवस्था छ। तर पद वा जिम्मेवारीमा बसेर जिम्मेवारी निर्वाह गरे नगरेको अनुगमन र मूल्याङ्कन गर्ने बलियो संयन्त्रको व्यवस्था खोइ ? अनुशासनहीनलाई त अनुशासन समितिले कारबाही गर्छ, कर्तव्य पूरा नगर्नेलाई कसले निगरानी गर्ने वा सचेत गराउने वा जिम्मेवारीबाट बिदा गर्ने हो, विधानमै शक्तिशाली निकायको व्यवस्था गरौँ।
६. पार्टी सङ्गठनमा सबैभन्दा बढी शक्तिशाली वडा र पालिका कार्यसमितिलाई बनाऔँ। कुशल संगठकहरुलाई जिम्मेवारीमा ल्याऔँ। वडा सभापतिलाई पदेन प्रदेश अधिवेशन प्रतिनिधि र पालिका सभापतिलाई महाधिवेशन प्रतिनिधि बनाउन प्रस्ताव गर्दछु। प्रदेश क्षेत्रीय सभापतिलाई पनि महाधिवेशन प्रतिनिधि बनाऔँ। उपमहानगरपालिका र महानगरपालिकाका सभापतिलाई महासमिति सदस्य बनाऔँ। त्यसैगरी प्रत्येक उपमहानगरपालिकाबाट ५ जना र महानगरपालिकाबाट ७ जना महाधिवेशन प्रतिनिधि अतिरिक्त निर्वाचित हुने व्यवस्था गरौँ।
७. प्रजातन्त्रसेनानी, द्वन्द्व पीडित र शहीद परिवारलाई छुट्टै क्लष्टरको रूपमा व्यवस्था गरौँ। नेपाल ट्रेड युनियन कांग्रेससँग संवाद गरेर श्रमिक क्लष्टरको ट्रेड युनियन मैत्री परिभाषा वा व्याख्या तय गरौँ।
८. क्रियाशील सदस्यताको सूचीलाई जतिसक्दो चाँडो पार्टीपंक्ति बीच पारदर्शी सार्वजनिक गरौँ। आवश्यक उजुरी लिने, छानबिन गर्ने अवसर दिएर अन्तिम प्रमाणीकरण गरौँ।
९. हामीले कांग्रेस बदलिसकेका छैनौँ। तर बदल्दैछौं र बदल्छौँ, यो हामी जोडिँदै गएका सबै सदस्यहरूको प्रतिबद्धता हो। पार्टी भित्र सुशासन कायम गर्न निश्चित मूल्य पद्धति (आन्तरिक लोकतन्त्र, निक्षेपण, पारदर्शिता, जवाबदेहीता र सहभागिता आदि) हाम्रा निर्णय प्रक्रिया, विधान र परिणाममा देखिनुपर्छ।
लोकतन्त्रको आत्माको रूपमा रहेको ट्रेड युनियन अधिकारको पक्षमा पार्टी प्रस्टसँग मुखरित हुन र आवश्यक परे सरकारी दुस्साहसको विरुद्ध प्रतिकारमा समेत उत्रिन तयार हुनुपर्छ।
१०. पार्टी भित्र विगतको लिगेसीको रूपमा हामीले घात, अन्तर्घात, दुश्मनी, घृणालाई प्राप्त गरेका छौँ। अस्वस्थ प्रतिस्पर्धा, अपमान र तेजोवधको शृङ्खलालाई अन्त गर्न पनि सिस्टम, मापदण्ड र समन्वयमा जोड दिँदै सांस्कृतिक रूपान्तरणमा काम गरौँ।
११. पार्टी भित्र दुई दर्जाको सदस्य हुनुहुँदैन। कोही महाधिवेशन प्रतिनिधि बन्न वडादेखि अनुमोदित भएर आउनुपर्ने र कोही स्वतः महाधिवेशन बन्ने भन्ने हुन सक्दैन।
सदस्यता चाहिँ केन्द्रीय सदस्यले समेत हरेक वर्ष नवीकरण गर्नैपर्ने तर महाधिवेशन प्रतिनिधिको हैसियत चाहिँ पुनः नवीकरण भएर आउनु नपर्ने कुरा स्वीकार्य हुँदैन। पार्टीमा विगतदेखि माग हुँदै आएको केन्द्रीय पदाधिकारी लगायत सबै केन्द्रीय सदस्य तल वडादेखि नै निर्वाचित भएर आउने व्यवस्थालाई सुनिश्चित गरौँ।
१२. पार्टीको भ्रातृ शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि आउने परम्परालाई निरन्तरता राखौँ। सदस्य सङ्ख्याको आधारमा प्रतिनिधित्व तय गरौँ।
१३. महिला सङ्घमा लामो समयदेखि काम गरेका, गरिरहेका व्यक्तिहरूलाई नेपाल महिला सङ्घको तहगत जिम्मेवारीमा ल्याऔँ। त्यसैगरी सबैलाई चित्तबुझ्दो मापदण्ड बनाएर नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल दलित सङ्घ, लोकतान्त्रिक खेलकुद सङ्घ लगायतलाई पूर्णता दिने काम गरौँ।
१४. नेपालको क्रान्तिकारी, प्रगतिशील शक्ति नै नेपाली कांग्रेस हो। आफूलाई जनता, समयसापेक्ष बनाउन प्रतिबद्ध गगन थापाको नेतृत्वमा रहेको यो नेपाली कांग्रेसले आफूलाई थप तिखार्दै आफूलाई राष्ट्रियता, लोकतन्त्र, जनजीवनका सवालमा सापेक्षिक क्रान्तिकारी र प्रगतिशील पुनः प्रमाणित गर्न तयार हौँ। र आगामी महाधिवेशनलाई नीति र नेता निर्माणमा ऐतिहासिक बनाऔँ।








































