महोत्तरी । भोटेकोशी बाढीमा हराएका इञ्जिनियर परिवारलाई भेट्न एमाले महासचिव शङ्कर पोखरेल पुगेका छन् । बाढीपछि रसुवाबाट सम्पर्कविहीन भएका महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका मेकानिकल इन्जिनियर शौभाग्य विष्टका परिवारलाई भेटेर पोखरेलले सान्त्वना दिएका हुन् ।
अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत विष्ट बाढीपछि सम्पर्कविहीन छन् । लामो समय बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवार चिन्तित छ ।
परिवार तथा आफन्तसँगको भेटमा शौभाग्यका पिता धुर्व विष्टले छोराको अवस्था अज्ञात रहँदा चिन्ता बढ्दै गएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले सरकारले खोज तथा उद्धार कार्यमा ढिलाइ गरेको भन्दै आक्रोशसमेत पोखेका छन् ।
परिवारले शौभाग्यको खोजीलाई प्रभावकारी बनाउन सरकारसँग पहल गरिदिन महासचिव पोखरेलसँग आग्रह गरेको छ । लामो समय बितिसक्दा पनि छोराको अवस्थाबारे जानकारी नपाउनु अत्यन्त पीडादायी भएको भन्दै परिवारले तत्काल खोजीलाई तीव्र बनाउन माग गरेको हो ।
परिवारको पीडा सुनेपछि महासचिव पोखरेलले शौभाग्यको खोजीका लागि सरकारसँग आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । उनले सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन पहल गर्ने बताएका छन् ।







































