काठमाडौं । कमन जेनजी नेपालले जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि आन्दोलनले उठाएका मूल मुद्दामा अपेक्षित उपलब्धि हासिल हुन नसकेको निष्कर्ष निकालेको छ ।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले राजनीतिक परिवर्तनको अपेक्षा गरिए पनि देशले अपेक्षित निकास पाउन नसकेको बताएका हुन् । उनका अनुसार आन्दोलनपछि समस्याहरू समाधान हुनुको सट्टा थप जटिल बन्दै गएका छन् ।
अध्यक्ष साहले जेनजी आन्दोलनको उपलब्धिका रूपमा रवि लामिछानेको नख्खु जेलबाट रिहाइ र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह प्रधानमन्त्री बन्नु बाहेक आम नागरिकले अनुभूति गर्न सक्ने उल्लेखनीय परिवर्तन नदेखिएको दाबी गरेका छन् ।
“ऐतिहासिक जेनजी आन्दोलनको जगमा देशले ठूलो राजनीतिक परिवर्तनको अपेक्षा गरेको थियो । तर आन्दोलनको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन सकेको छैन,” साहले भनेका छन्, “समस्याहरू झन् जटिल बन्दै गएका छन् र परिवर्तनको प्रवाह यथास्थितिको दलदलमै अल्झिएको छ ।”
आन्दोलनअघि आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गरेका व्यक्तिहरू छोटो समयमै आलोचित बन्दै गएको साहको टिप्पणी छ । हिजो ‘रामराज्य’को वकालत गर्नेहरू नै अहिले जनअपेक्षा अनुसार अघि बढ्न नसकेको उनको आरोप छ ।
साहले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा सरकारले उनीहरूसँगै सहकार्य गरिरहेको आरोपसमेत लगाए । आन्दोलनमा सहभागी युवामाथि झूटा मुद्दा लगाएर दुःख दिने काम भइरहेको उनको दाबी छ ।
त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका युवालाई राज्यले निःशुल्क र प्रभावकारी उपचार उपलब्ध गराउन नसकेको साहले बताएका छन् । घाइतेहरू आर्थिक अभाव, मानसिक तनाव र शारीरिक पीडाबीच संघर्ष गर्न बाध्य भएको उनको भनाइ छ ।
वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनका युवाको बलिदानलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाएको साहको आरोप छ । युवाका लागि आवश्यक नीतिगत तथा संरचनागत सुधार नगरी ‘जेनजी’का नाममा सार्वजनिक बिदा घोषणा गर्नेजस्ता प्रतीकात्मक कदममा सरकार केन्द्रित भएको उनले बताएका छन् ।
साहले आन्दोलनका बाँकी मुद्दा तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने, आन्दोलनकारीमाथि लगाइएका झूटा मुद्दा बिनासर्त खारेज गर्नुपर्ने तथा भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाही गर्नुपर्ने उनको माग छ ।
उनले जेनजी युवाका लागि दीर्घकालीन नीतिगत र संरचनागत सुधार गर्नसमेत सरकारलाई आग्रह गरेका छन् । सार्वजनिक बिदा घोषणा गरेर मात्र आन्दोलनको भावना सम्बोधन नहुने भन्दै साहले सरकारलाई युवाको मागअनुसार ठोस काम गर्न चेतावनी दिएका छन् ।







































