काठमाडौं। पाकिस्तानले अस्ट्रेलियाविरुद्ध जारी एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा शानदार पुनरागमन गरेको छ। दोस्रो खेलमा शुक्रबार पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्यो।
पहिलो खेलमा २ विकेटले निराश भएको पाकिस्तानलाई शृखलामा फर्काउन फास्ट बलरद्धय ह्यारिस रौफ र शाहिन शाह अफ्रिदीले उत्कृष्ट बलिङ गरे। पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभरमा एक सय ६३ रनमा अलआउट भएको थियो।
रौफले ५ र अफ्रिदीले ३ विकेट लिए। घरेलु टोली अस्ट्रेलियाका स्टिभन स्मिथले सर्वाधिक ३५ रन जोडे। पाकिस्तानले २६।३ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो।
साइम अयुबले ८२ र अब्दुल्लाह सफिकले ६४ रन जोडे। यी दुईले पहिलो विकेटका लागि एक सय ३७ रनको साझेदारी गरेका थिए।