वि.सं.२०८३ असोज ६ मंगलवार

ऊर्जामन्त्रीलाई प्रश्न : बुढीगंगा जलविद्युत आयोजना उद्घाटन गर्न अछाम कहिले जानुहुन्छ ?

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौला (ज्वाला) ले बुढीगंगा जलविद्युत आयोजना विगत २९ वर्षदेखि अलपत्र परेको भन्दै कहिले बन्छ भनेर सरकारलाई प्रश्न गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद सांग्रौलालले दशकौँदेखि अन्धकारमा बाँच्न बाध्य जनताको पीडाप्रति सरकारको ध्यानाकर्षण पनि गराइन्।

उनले सुदूरपश्चिमका जनताले भोग्नुपरेको कालो पट्टी र अन्धकारको विषयमा कहिल्यै बहस नहुने गरेको भन्दै गुनासो गरिन्। ‘सदनमा बेलाबेला प्रधानमन्त्रीको कालो चश्माको विषयमा बहस हुन्छ, तर सुदूरपश्चिमका जनताको भाग्यमा सिंहदरबारले बाँधेको कालो पट्टी र अन्धकारको विषयमा कहिल्यै बहस हुँदैन,’ उनले भनिन्।

२० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजना कागजमै सीमित भएको २९ वर्ष भइसकेको छ।

अछाम र बाजुराको काखैमा बग्ने नदी भए पनि उक्त क्षेत्रका आधा गाउँ अझै अन्धकारमा छन्। स्थानीय बासिन्दा अझै पनि भित्तामा स्वीच थिचेर बत्ती बल्ने दिनको पर्खाइमा उज्यालोको खोजीमा छन्।

सांसद र्संग्रौलालले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई बुढीगंगा जलविद्युत आयोजना कहिले सम्पन्न हुन्छ र तपाईँले उद्घाटन गर्नुहुन्छ भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘मन्त्रीज्यू, चार पटक ठेक्का लागेको बुढीगंगा जलविद्युत आयोजनाको निर्माण कार्य कहिले तीव्र गतिमा सम्पन्न गरेर बत्ती बालेर उद्घाटन गर्न अछाम जानुहुन्छ ?’ उनले आयोजना निर्माणको कार्य अब लम्ब्याउन नहुने र तत्काल गति दिनुपर्ने माग गरिन्।

उनले एउटा पुस्ता यही आयोजनाको नाम जपिरहँदा मरेर गइसकेको तर अझै पनि सुदूरपश्चिमका जनता बत्ती मुनिको अन्धकारमा बस्न बाध्य हुनु लज्जास्पद भएको बताइन्।

ranechhap