वि.सं.२०८३ असोज ६ मंगलवार

राजनीतिमा सक्रिय शिक्षकमाथि कारबाहीको डन्डा: देशभर निगरानी बढाउन मन्त्रीको कडा निर्देशन

khanepani

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकहरूको राजनीतिक गतिविधिमाथि सूक्ष्म निगरानी राख्न निर्देशन दिएका हुन्।

मन्त्रीको निर्देशनसँगै जिल्ला तहमा पनि यसको कार्यान्वयन सुरु भएको छ। शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए/नभएको निगरानी गर्न आग्रह गरेको छ। शिक्षक आचारसंहिता तथा प्रचलित शिक्षा ऐन र नियमावलीविपरीत गतिविधि पाइएमा कानुनअनुसार तत्काल आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्राचार गरिएको छ।

यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले पनि दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न आग्रह गरेको छ।

सिन्धुलीद्वारा प्रेषित पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम नै किटान गरिएको छ। शिक्षा नियमावली, २०५९ (दसौँ संशोधनसहित) को व्यवस्थाविपरीत गतिविधि पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी त्यसको जानकारी समन्वय एकाइलाई गराउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको छ।

ranechhap