काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले भावुक सम्बोधन गर्दै आफू प्रतिनिधि सभामा आउनुको पीडा र उद्देश्यबारे प्रष्ट पारेकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद खतिवडाले आफ्नो संसद् यात्रा कुनै राजनीतिक रहर वा पदको लालचले नभई न्याय र खोजको यात्रा भएको बताइन्।
उनले भनिन्, ‘मेरो काखमा हुर्केको बच्चाको ज्यान लिने शासकको तातो गोली र उसको बगेको रगतले न्याय खोज्दै म यहाँसम्म आइपुगेकी हुँ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापकहरू र त्यहाँका जननीहरूसँग आफू जोडिन पुग्नुको मुख्य कारण नै न्याय भएको उल्लेख गरिन्।
उनले देशमा यत्रो ठूलो राजनीतिक परिवर्तन आएपछि पनि बाटो बिराउने वा जनतालाई सास्ती दिने पुरानै प्रवृत्ति कायमै रहेको भन्दै उनले गुनासो गरिन्। उनले थपिन्,‘यदि सरकारले बाटो बिराउँछ भने संसद्को यो रोस्टममा रहेका हरेकले खबरदारी गर्नुपर्छ।’
उनले आफ्नो पीडा र संसद् यात्रालाई लिएर गरिएका कतिपय अपमानजनक टिप्पणीप्रति आपत्ति जनाइन्। ‘कसैले मेरो छोराको लास माथि राजनीति गरेर पद साटेको भन्दै टिप्पणी गर्दा म स्तब्ध छु,’ उनले भनिन्, ‘मेरो छातीको घाउमाथि कसैले प्रहार नगरोस्। मेरो छोरा र म त शहीद भयौँ, कमसेकम अब मेरा छोरा जस्ता अरू छोराहरूले मर्न नपरोस्।’
सांसद खतिवडाले सरकारसँग आफ्नो छोराको न्यायको माग गर्दै अब उप्रान्त कुनै पनि आमाले आफ्नो सन्तान गुमाउन नपरोस् भनी सुनिश्चित गर्न ध्यानाकर्षण गराइन्।
उनले आफ्नो छोराको बलिदानी खेर नजाओस् र अब कुनै पनि आमाले आफ्नो सन्तान गुमाउने अवस्था नआओस् भन्दै राज्यले यस्ता घटनाको जिम्मेवारी लिनुपर्ने बताइन्।







































