वि.सं.२०८३ वैशाख १८ शुक्रवार

चक्रपथको विस्तारित खण्डमा छुट्टै साइकल लेनको तयारी

khanepani

काठमाडौं । ललितपुर महानरपालिकाले चक्रपथको विस्तारित खण्डमा छुट्टै साइकल लेन बनाउने भएको छ । कोटेश्वरदेखि बल्खुसम्मको ७.७ किलोमिटर चक्रपथमा छुट्याइने साइकल लेनको डिजाइन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

चक्रपथमा साइकल लेनको डिजाइन तयार गरिरहेको नेपाल साइकल सोसाइटीमा महासचिव राकेश महर्जन करिब एक हप्ताभित्र महानगरपालिकामा डिजाइन पेस हुने बताउँछन् । महानगरपालिकाले डिजाइन स्वीकृत गरेपछि चक्रपथमा पनि साइकल लेन छुट्याउन महानगरपालिकाले समन्वय र प्रक्रिया थाल्ने उनले बताए ।

योजनाअनुसार चक्रपथको दुवैतर्फको सर्भिस लेनमा लेनको रेखाङ्कन गरिनेछ । ललितपुर महानगरपालिकाले हरियो रंग पोतेर ठाउँ–ठाउँमा साइकलको चित्र राखेर लेन बनाउँदै आएको छ ।

कुपण्डोल, जाउलाखेल, लगनखेल, पुल्चोक मंगलबजारमा पहिलो चरणमा र सानेपासहित चक्रपथ जोड्ने सडकमा दोस्रो चरणमा महानगरपालिकाले साइकल लेन छुट्याएको छ । सडकका दुई भागमा साइकलका लागि बनाएपछि पछिल्लो समयमा साइकल प्रयोगकर्ता बढेको साइकल सोसाइटीका महासचिव महर्जनले बताए ।

अब साइकल लेनमा साइकल चलाउँदा अरु सवारीले दिने हैरानी कम गर्न सचेतना अभियान नै चलाउने योजनामा साइकल सोसाइटी छ । साइकल लेनमा सवारी पार्किङ गर्ने र साइकल देख्दा देख्दा साइकल लेनमा आएर ‘ओभरटेक’ गर्ने अन्य सवारीको शैली बदल्न यस्तो अभियान चलाउने योजना बनाइएको महासचिव महर्जनले बताए ।

नगर प्रहरीको सहयोग लिएर भएपनि साइकल लेनमा साइकल सुरक्षित र बिना झन्झट चल्न पाउने वातावरण तयार गर्न महानगरपालिका पनि प्रतिवद्ध छ,’ उनले भने,‘हामी पनि त्यसमा हातेमालो गरिरहेका छौं ।

ललितपुर महानगरले साइकलमैत्री शहर बनाउने भन्दै सडकमा साइकल लेनको रेखाङ्कन गरेपछि सडक विभागले असन्तुष्टि जनाउँदै आएको छ । सडकमा साइकल लेन राख्दा दुर्घटना बढ्ने तर्क विभागले गर्दै आएको छ । अहिलेको भन्दा थप व्यवस्थित गरेर लेन बनाउनुपर्ने सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा बताउँछन् ।

बनाउन नदिने पक्षमा हैनौं, सडकलाई थप व्यवस्थित गरेर साइकल लेन बनाउनुपर्छ,’ महानिर्देशक थापाले भने,‘वैज्ञानिक र व्यवस्थित गरौं भन्ने हाम्रो कुरा हो ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन चक्रपथमा साइकल लेन बनाएर सडक विभागलाई जानकारी दिइने बताउँछन् । साइकल लेन बनाउँदा शहरमा साइकलको प्रयोग बढ्ने र त्यसले शहरको वातावरण र शहरबासीको स्वास्थ्य पनि सुध्रने भएकाले आफूहरु अभियान जारी राख्ने पक्षमा रहेको उनले बताए ।

साइकल लेन बनाउन महानगरपालिकाले साइकल पूर्वाधार विकासको छुट्टै ‘टास्कफोर्स’ नै गठन गरेको छ । महानगरपालिकाले साइकल लेन बनाउन ७० लाखभन्दा बढी खर्च गरिसकेको छ ।

ranechhap