काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड मर्मतका लागि आज (दोस्रो दिन) पनि पूर्ण रूपमा बन्द रहने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म (१२ घण्टा) उक्त खण्डमा सवारी आवागमन ठप्प रहनेछ। यस अवधिमा एम्बुलेन्स र शववाहनजस्ता अत्यावश्यक सवारीबाहेक अन्य सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले परेवाभिर क्षेत्रको सडकमा क्षति पुर्याएपछि यो खण्ड एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो।
क्षतिग्रस्त सडक मर्मत गर्न प्रशासनले शनिबार पनि बिहान ६ देखि साँझ ६ बजेसम्म यातायात रोकेको थियो। तर काम नसकिएपछि आज पनि आवागमन रोकेर मर्मत कार्यलाई निरन्तरता दिइएको हो। सडक बन्दका कारण यात्रुहरूमा पर्ने असुविधाप्रति क्षमा माग्दै प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।







































