काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने भएको छ ।
विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्न पाउने भएकाले सोही बमोजिम केन्द्रीय कमिटी बैठकको माग गर्न लागिएको एक नेता नेपालले बताए ।
माधव नेपाल पक्षले एमाले पुनःस्थापनापछि फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकलाई स्वीकार गरेको छैन । फागुन २८ को बैठकमा खबर नै नभएको र चैत ७ गतेका बैठक बहिष्कार गरेको नेपाल पक्षले विधान बमोजिम बैठक माग गर्न लागिएको हो ।
त्यसअघि माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक शुक्रबार काठमाडौंमा बस्दैछ । सो बैठकले थप रणनीति तय गर्ने बताइएको छ । यसैबीच माधव नेपालसहित चार नेताले स्पष्टीकरण आज पेश गर्ने भएका छन् ।







































