काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी बालिकाको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ ।
शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो स्काउटको डोरीमा कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया शालिन पोखरेलको शव होस्टलको कोठामा भेटिएको थियो ।
‘किशोरीको पुरानो नोट बुकहरु मगाएर सुसाइड नोट पनि ल्याबमा पठाइसकेका छौं, सम्भवतः आजै साँझ वा भोलिसम्ममा रिपोर्ट आउँछ’, प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रहरी यो घटनाको अनुसन्धानमा एकदमै संवेदनशील छ ।’ गृह मन्त्रालय स्रोतका अनुुसार, आवश्यक परे यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीलाई पनि खटाउने गरी प्रहरी हेडक्वार्टरलाई निर्देशन भएको छ । प्रहरीले भने संवेदनशीलतालाई मध्यनजर गर्दै शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको जनाएको छ ।
काठमाडौंमा भएको पोष्टमार्टमको प्रतिवेदन समेत तयार भइसकेको छ । जसमा झुण्डिएका कारण मृत्यु भएको उल्लेख छ ।
किशोरीको परिवारका सदस्यले बलात्कार भएको आशंका गरेपछि प्रहरीले यसमा पीडितको संवेदनशील अंगको पनि जाँच गरेको थियो । तर, त्यस्तो कुनै संकेत नदेखिएको रिपोर्टमा उल्लेख छ ।
उनका बुबा दीपेन्द्र पोखरेल र आमा सगुन पोखरेलबीच सम्बन्ध विच्छेद भएपछि शालिन रत्ननगर नगरपालिका–१५, माधवपुरमा रहेको मामाघरमा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । पछिल्लो समय उनलाई मावलीले विद्यालयको होस्टलमा राखिदिएका थिए ।
घटनापछि चितवन पुगेका शालिनका बाबु दीपेन्द्रले प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए । त्यसपछि विद्यालयका प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेल पक्राउ परेका थिए ।
उनीहरु तीनै जनाविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिएको थियो ।