वि.सं.२०८३ भदौ ६ शनिवार

सम्बन्ध विच्छेद दर्ताका लागि घुस लिने झापाका वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

khanepani

काठमाडौँ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं.१ का वडा सचिव अजय कुमार शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सम्बन्ध विच्छेदको प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले शुक्रबार शाहविरुद्ध आरोपपत्र दायर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सचिव शाहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा शाहले आफ्नो पदीय जिम्मेवारी अनुसार कानुनी रीत पुर्‍याएर सहजै उपलब्ध गराउनुपर्ने सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रका लागि सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिएको खुलेको अख्तियारले जनाएको छ। उनले नियतवश काममा ढिलासुस्ती गरी प्रमाणपत्र जारी गर्ने प्रयोजनका लागि घुस माग गरेको आयोगको जिकिर छ।

आयोगले शाहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएको पुष्टि गर्दै १० हजार रुपैयाँ बिगो कायम गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार शाहलाई बिगो बमोजिम जरिवाना र भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।

ऐनको सो व्यवस्था अनुसार बिगो बमोजिमको जरिवाना र कसुरको मात्रा हेरी कैद सजाय हुने प्रावधान रहेको छ। आयोगले अनुसन्धान प्रक्रिया पूरा गरी शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन मागदाबीसहित विशेष अदालतमा पेश गरेको हो।

ranechhap