काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतामा त्रास र भयको वातावरण सिर्जना गरिरहेको आरोप लगाएका छन्। शनिबार नगरकोटमा आयोजित पार्टीको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै उनले सरकारले नागरिकलाई आतंकित बनाउन खोजेको दाबी गरे।
ओलीले सरकार बन्नासाथ आफूलाई गिरफ्तार गरेर सर्वसाधारणलाई तर्साउने प्रयास गरिएको टिप्पणी गरे। वर्तमान सरकारलाई ‘बारुला’ को संज्ञा दिँदै आफूले विगतमा धेरै ठूला राजनीतिक चुनौती सामना गरिसकेकाले यस्ता गतिविधिबाट नडराउने स्पष्ट पारे।
सम्बोधनका क्रममा उनले देशलाई प्रतिगमनबाट जोगाउन, संविधान र लोकतन्त्रको रक्षा गर्न तथा मुलुकलाई फेरि सुशासन र विकासको मार्गमा फर्काउन आवश्यक रहेको बताए। साथै, सरकारले गैरकानूनी रूपमा नागरिक तथा व्यवसायीलाई निशाना बनाउने, बैंक खाता रोक्का गर्ने र व्यवसाय धराशायी बनाउने षड्यन्त्र रचिरहेको आरोपसमेत उनले लगाए।
ओलीले सम्बोधनको क्रममा थप व्याख्या गर्दै भनेका छन्–
जसलाई पाता कास्नु छ त्यसलाई पाता कस्नका लागि, जसलाई जेल हाल्नु छ त्यसलाई जेल हाल्नका लागि, जसलाई बदनाम गर्नुछ त्यसलाई बदनाम गर्नका लागि, जसको सम्पत्तिमा आँखा लागेको छ, त्यसको सम्पत्ति जफत गर्न, बैंक खाता बन्द गरिदिन, कुन ठेकेदार डुबाउन मन छ, कसले पैसा दिएन भनेजति त्यसलाई डुबाइदिनका लागि कारोबार रोकिदिएपछि उसका औजारहरू त सबै खिया लागेर जाने भए, बैंकको लोन बढेको बढ्यै हुने भयो, मजदुरले पारिश्रमिक खोज्ने भए । जुन ठाउँमा भाडामा लिएको थियो, त्यो ठाउँको भाडा तिर्नुपरेको छ । त्यत्रो सामान, लोन सबै फ्रिज गराइदिएपछि सुकुमवासीभन्दा बेहाल हालतमा पुग्छ र मान्छे बाँच्न नसक्ने अवस्थामा पुग्छ । त्यो स्थितिमा पुर्याउने षड्यन्त्र भइरहेको छ । नेपाली जनतालाई डर, त्रास आतंक सिर्जना गरेको छ । तमासा गरेको छ ।







































