काठमाडौं । जापानमा रहेका नेपालीहरुका लागि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रमाणीकरण प्रक्रिया थप सरल र सहज बनाइएको छ ।
टोकियोस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सेवा थप सरलीकरण गरिएको जानकारी दिएको हो ।
यस अघि जापानको सम्बन्धित निकायबाट सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रयोजनका लागि नेपाली सवारी चालक अनुमतिपत्रलाई सम्बन्धित यातायात व्यवस्था कार्यालयको पत्र ल्याउनु पर्ने थियो ।
त्यो पत्रको आधारमा त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गराई त्यसपछि मात्र नेपाली राजदूतावास टोकियोबाट प्रमाणीकरण गराउनुपर्ने झन्झटिल व्यवस्था रहेको थियो ।
अब भने नेपाली सवारी चालक अनुमतिपत्रलाई टोकियोस्थित नेपाली राजदूतावासबाटै सोझै प्रमाणीकरण गरिने व्यवस्था मिलाइएको छ ।
यो नयाँ व्यवस्थासँगै अब सेवाग्राहीहरुले कन्सुलर सेवा विभाग धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । भने जापानमा रहेका नेपालीहरूलाई लाइसेन्स प्रमाणीकरणमा ठूलो राहत मिल्ने भएको छ ।








































