सिमरा । जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका दुई नाबालकलाई अदालतले पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ ।
सामाजिक सञ्जालमा सबै आरोपीहरु छुटेको चर्चा चले पनि अदालतले दुई मुख्य आरोपीलाई छोड्ने आदेश नदिएको पुष्टी भएको हो ।
बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बुधबार दुवै नाबालकलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म वीरगन्जस्थित बाल सुधारगृहमा राख्ने आदेश दिएको छन् ।
आदेशपछि उनीहरूलाई बाल सुधारगृह पठाइएको जिप्रका बाराका प्रहरी नायब उपरिक्षक मिनबहादुर घलेले जानकारी दिए ।
घटनालगत्तै पक्राउ परेका १६ बर्षिय बालकले अपराध स्वीकार गरेका थिए । अस्पतालमा उनीसँग चिकित्सकले गरेको सोधपुछको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
प्रादेशिक अस्पताल कलैयाको ओसीएमसी कक्षमा खिचिएको उक्त भिडियो प्रहरी हवल्दार कुमार विकले बाहिर ल्याएको खुलेपछि उनलाई नियन्त्रणमा लिएर वैयक्तिक गोपनीयतासम्बन्धी ऐन र विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
उक्त भिडियोमा बालकले आफूसँगै अर्का साथी पनि घटनामा संलग्न रहेको बताएका छन् ।
उनको बयानका आधारमा प्रहरीले केही दिनपछि अर्का १४ वर्षिय बालकलाई पनि पक्राउ गरेको छ । उनले भने आफू घटनामा संलग्न नरहेको बयान दिएका छन् ।
बालिकाको शव भेटिएकै दिन पक्राउ परेका बालकले बालिकालाई चकलेट खुवाएर बलात्कारपछि हत्या गरेको बयान दिएका छन् ।
उनको बयान घटनास्थल र शवको अवस्थासँग मेल खाएपछि प्रहरीले घटनामा उनको संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।
अदालतले दुवै नाबालकलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म बाल सुधारगृहमा राख्ने आदेश गरेको हो ।
१० प्रतिवादीमध्ये एकलाई धरौटी, नौ जना साधारण तारेखमा
यसै घटनामा प्रतिवादी बनाइएका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश चौधरीसहित १० जनालाई भने बारा जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको छ ।
अदालतले प्रोग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । अदालतको आदेशसँगै उनीहरू बिहीबार साँझ छुटेका छन् ।
साधारण तारेखमा रिहा हुनेमा प्रोग्रेशका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता, सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन् ।
बालिकाका बुबा मनोज चौधरीको किटानी जाहेरीका आधारमा उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अदालतमा पेस गरेको थियो ।
तर अदालतले उनीहरूको घटनामा संलग्नता देखाउने पर्याप्त तथा ठोस प्रमाण नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा साउन ३१ गतेदेखि हराएकी थिइन् । खोजीका क्रममा भदौ २ गते घरदेखि करिब एक सय मिटर दक्षिणतर्फ रहेको खाली घरमा उनको शव फेला परेको थियो ।
प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको जनाएको थियो ।
घटनापछि परिवार र स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए। घटनालाई लिएर देशभरसमेत विरोध प्रदर्शन भएको थियो ।
भदौ ६ गते मृतक बालिकाका बुबा मनोज र आमा मानमतीसहितको टोलीले गृह मन्त्रालयमा गृहमन्त्री, कानुनमन्त्री र प्रहरी महानिरीक्षकसहित सरकारी टोलीसँग वार्ता गरेको थियो ।
वार्तामा तीनबुँदे सहमति भएपछि बालिकाको भदौ ७ गते कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो ।







































