काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजमा महिलाले सडकमा बच्चा जन्माएको घटनाले समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको टिप्पणी गरेकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले संघीय सरकारको अस्पताल बाहिर महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो मातृ स्वास्थ्य र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको बताएकी हुन् ।
उनले अस्पताल पुगेकी महिलाले पैसा नभएका कारण बच्चा जन्माउन नपाएको घटनाले अस्पतालको व्यवस्थापनमा प्रश्न उठेको बताउदै अस्पताल गएको विरामी बाहिर जादा किन थाहा पाइएन भन्दै प्रश्न गरेकी छन् ।
उनले आमा सुरक्षा स्वास्थ्यलाई व्यवस्थित गर्न सुझाव दिदै तत्काल कानुनी व्यवस्था परिवर्तन गर्नुपरे गरेर भएपनि सो लागु गर्न माग गरेकी छन् । सांसद कार्कीले बबिताजस्ता महिला अस्पताल पुगेपनि राज्य बबिता जस्ता महिलासम्म नपुगेको बताउदै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माएकी थिइन् ।







































