वि.सं.२०८३ भदौ २४ बुधवार

बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सरकारको निर्देशन

khanepani

काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्नु अघि विद्यार्थीहरूलाई अनिवार्य मनोसामाजिक परामर्श (साइकोसोसियल काउन्सिलिङ) उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभाग योजना तथा कार्यक्रम शाखाले सबै सम्बन्धित स्थानीय तहलाई एक पत्र पठाउँदै बाढीका कारण विद्यार्थीहरूमा परेको मानसिक एवम् मनोवैज्ञानिक असरलाई सम्बोधन गरेर मात्र पठनपाठन सुचारु गर्न आग्रह गरेको हो।

शिक्षा विभागका निर्देशक नीलकण्ठ ढकालद्वारा जारी पत्रमा बाढी विपद्का कारण विद्यार्थीहरूमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक समस्याहरू देखिन सक्ने भएकाले उनीहरूको मानसिक स्वास्थ्य बुझ्न र आवश्यक सहयोग पुर्‍याउनु अपरिहार्य रहेको उल्लेख छ।

बाढीबाट प्रभावित विद्यालयका बालबालिकाहरूलाई पहिले सामान्य अवस्थामा फर्काउन सहयोग नगरी सिधै पठनपाठन सञ्चालन गर्दा उनीहरूको सिकाइ र मानसिक स्वास्थ्यमा थप प्रतिकूल प्रभाव पर्न सक्ने विभागको भनाइ छ।

यसका लागि सम्बन्धित विद्यालय तथा स्थानीय तहहरूलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूसँग आवश्यक समन्वय गर्न भनिएको छ। स्वास्थ्यकर्मीहरूको सहयोगमा विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गरी सोही अनुसार परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिइएको छ।

विद्यार्थीहरू परामर्शपश्चात् नियमित कक्षाका लागि मानसिक रूपमा तयार भएको सुनिश्चित गरेर मात्र सुरक्षित र बालमैत्री वातावरणमा पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाउन शिक्षा विभागले निर्णय अनुसार अनुरोध गरेको छ।

ranechhap