काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट भएको ठुलो जनधनको क्षति उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि राष्ट्रिय एकता र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले भाद्र १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लामा ठुलो क्षति भएको जानकारी दिएका हुन् ।
बाढीबाट १ हजार ३६६ जनाको मृत्यु भएको र ५ हजार भन्दा बढी मानिस अझै बेपत्ता रहेको उनले बताए। बाढीबाट ३५ देशका ६ सयभन्दा बढी विदेशी नागरिकसमेत प्रभावित तथा बेपत्ता भएका छन्। प्रारम्भिक विवरण अनुसार ७ हजार ५७० घरधुरीका ३२ हजार ९३३ जना विस्थापित भएका छन् भने ४८ सरकारी कार्यालय, ५५ किलोमिटर सडक, ३७ पक्की पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको छ।
यस्तै १३ वटा जलविद्युत आयोजनाको ७८३ मेगावाट उत्पादन प्रभावित भएको र १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको जानकारी अधिकारीले दिए। उनले उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा प्रदेश तथा स्थानीय तहको स्पष्ट जिम्मेवारी निर्धारण गरी संयुक्त संयन्त्रमार्फत अनुगमन र जबाफदेहिता सुनिश्चित गर्नुपर्ने बताए।
सर्वदलीय बैठक तथा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गरी विपद् सामना गर्ने राष्ट्रिय वातावरण बनाउन उनले सरकारसँग आग्रह गरे। बाढीको सुरुवाती चरणमै अन्तर्राष्ट्रिय उद्धार टोलीसँग समन्वय गर्न सके सुरुङमा फसेका नागरिकलाई जीवितै उद्धार गर्ने सम्भावना बढी हुने धारणा उनले राखे। रसुवागढी हाइड्रो, चिलिमे हाइड्रो, त्रिशूली-३ ए, त्रिशूली-३ बी तथा लाङटाङलगायतका सुरुङमा फसेका इन्जिनियर, कर्मचारी तथा कामदारको खोजीमा आधुनिक प्रविधि र उपकरण प्रयोग गर्न उनले माग गरे।
भोटेकोशी बाढी भविष्यमा आउन सक्ने अझ ठुलो विपद्को सङ्केत हुनसक्ने भन्दै जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणमा तत्काल काम थाल्नुपर्नेमा उनले जोड दिए।







































