वि.सं.२०८३ भदौ ४ बिहीवार

सर्पको टोकाइबाट १० वर्षमा ३०१ जनाको ज्यान गयो, झारफुक र उपचारमा ढिलाइ गर्दा मृत्युदर उच्च

khanepani

काठमाडौँ । पछिल्लो १० वर्षमा सर्पले टोकेर तीन सय एक जनाको मृत्यु भएको छ । २०७३ देखि २०८३ असार मसान्तसम्म सर्पको टोकाइबाट तीन सय एक जनाको मृत्यु भएको हो । यो अवधिमा देशभर सर्पदंशका १६ सय ७८ घटना घटेका छन् । जसमा १४ सय १ जना घाइते भएका छन् भने ३०१ जनाको ज्यान गएको छ । मृतकहरूमध्ये ४२ प्रतिशत महिला र करिब २२ प्रतिशत बालबालिका रहेका छन्

‘सर्पदंश रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ अनुसार उपचार केन्द्र पुग्न हुने ढिलाइ, झारफुक तथा अन्धविश्वासमा आधारित उपचार, एन्टीभेनमको सीमित उपलब्धता, दक्ष स्वास्थ्य जनशक्तिको कमी र आपत्कालीन उद्धार सेवामा ढिलाइका कारण सर्पदंशबाट हुने मृत्यु र अशक्तता अझै उच्च रहेको उल्लेख छ ।

जलवायु परिवर्तन, वन विनाश, अव्यवस्थित सहरीकरण, कृषियोग्य जमिनको अतिक्रमण तथा जैविक विविधतामा आएको परिवर्तनले मानव र सर्पबिचको प्रत्यक्ष सम्पर्क बढाउँदै लगेको छ । यसले गर्दा सर्पदंश केवल स्वास्थ्य समस्या मात्र नरहेर विपद् व्यवस्थापन, वातावरण संरक्षण, जलवायु अनुकूलन र सामुदायिक व्यवहार परिवर्तनसँग जोडिएको बहुआयामिक विषयका रूपमा स्थापित भएको छ। संघ, प्रदेश, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूबिच समन्वय तथा साझेदारीमार्फत सर्पदंशबाट हुने मृत्यु, अशक्तता र सामाजिक–आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो राष्ट्रिय कार्ययोजना तयार पारिएको हो । कार्यविधि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको हो ।

कार्ययोजनाले देशका विभिन्न प्रदेशका जिल्लाहरूलाई सर्पदंशबाट अति प्रभावित र उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ । जसअनुसार मधेस प्रदेशका आठै जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र कोशी प्रदेशका झापा, मोरङ, सुनसरी उच्च जोखिममा रहेका छन् । यस्तै, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व), लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, रूपन्देही, बाँके, बर्दिया, पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लालाई सर्पदंशको अति जोखिमयुक्त जिल्लाका रूपमा सूचीकृत गरिएको छ ।

सर्पदंशबाट बच्न र टोकिहालेमा अपनाउनुपर्ने उपायहरूबारे स्पष्ट मार्गदर्शन प्रस्तुत गर्दै कार्ययोजनामा सर्वसाधारणलाई सचेत गराइएको छ । सर्पको टोकाइबाट बच्न राति हिँड्दा उज्यालो बत्ती वा टर्चलाइट र लट्ठी प्रयोग गर्न, झाडी वा अँध्यारो ठाउँमा जाँदा जुत्ता र पूरा ढाक्ने कपडा लगाउन तथा घरवरपर सरसफाइ राख्न आग्रह गरिएको छ। सर्पले टोकेमा नआत्तिई, अङ्ग नचलाई छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्याउनुपर्छ । घाउमा ब्लेडले चिर्ने, मुखले चुस्ने, बाँध्ने, धामी झाँक्रीकहाँ जाने वा कुनै जडीबुटी तथा हिउँ हाल्ने जस्ता हानिकारक अभ्यास नगर्न र सर्प देखिएमा नजिस्काई सुरक्षित रूपमा टाढा हट्न वा उद्धारकर्मीलाई खबर गर्न कार्ययोजनामार्फत अपिल गरिएको छ ।

ranechhap