वि.सं.२०८३ भदौ ४ बिहीवार

चालु आर्थिक वर्षको पहिलो महिनामा ७० हजार नेपाली वैदेशिक रोजगारीमा

khanepani

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार कुल ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् ।

जसमा श्रम स्वीकृति लिनेहरूमा पुरुषको सङ्ख्या धेरै देखिएको छ । कुल सङ्ख्यामध्ये ६० हजार ४७२ जना ८५.८ प्रतिशत पुरुष रहेका छन् भने ९ हजार ९६९ जना १४.२ प्रतिशत महिला रहेका छन्।

नेपाली श्रमिकका लागि संयुक्त अरब इमिरेट्स पहिलो रोजाइको मुलुक बनेको छ । साउन महिनामा मात्रै १८ हजार ७८४ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै,अन्य देशहरू मलेसियाः १२ हजार ४९८ जना, कतारमा १० हजार ३६० जना, साउदी अरबमा ८ हजार ६१३ जना, कुवेत ४ हजार ५६७ जना र रोमानियामा २ हजार ९०८ जना गएका छन् ।

त्यस्तै,खाडी मुलुकबाहेक जापान, ओमान, पोर्चुगल र टर्कीमा पनि नेपाली श्रमिकहरूको आकर्षण बढ्दो देखिएको छ । तराईका जिल्लाहरूबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च छ ।

धनुषा जिल्लाबाट सबैभन्दा बढी ३ हजार ३६८ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, झापाका ३ हजार १४५ जना, मोरङका २ हजार ८३५ जना, सिराहाका २ हजार ६४८ जना र महोत्तरीका २ हजार ६२९ जना रहेका छन् ।

विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेहरूमा दक्ष श्रमिकको सङ्ख्या सबै भन्दा बढी छ । ४० हजार ४९६ जना दक्ष श्रमिकका रूपमा बिदेसिएका छन् । यस्तै, १७ हजार ९९९ जना अदक्ष र ११ हजार ४६५ जना अर्ध–दक्ष श्रमिकका रूपमा बाहिरिएका छन् । उच्च दक्ष र व्यावसायिक क्षेत्रमा जानेको सङ्ख्या भने निकै न्यून १०३ र ३७८ जना रहेको छ ।

कुल स्वीकृतिमध्ये २९ हजार ४४७ जनाले म्यानपावर कम्पनी मार्फत र २७ हजार ७४८ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् । त्यस्तै, १२ हजार ४४२ जना नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् भने ७१२ जना सरकार–देखि–सरकार प्रक्रियामार्फत बिदेसिएका छन् ।

ranechhap