वि.सं.२०८३ भदौ ४ बिहीवार

ओलीलाई बासको व्यवस्था मिलाएर किरणले मुख्यमन्त्री पद पाएको होइन: महेश बस्नेत

khanepani

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी ओलीलाई बसोबासको व्यवस्था मिलाएकै कारणले किरण थापा मगरलाई मुख्यमन्त्री बनाएको भन्दै हल्ला झूटो भएको बताएका छन्। उनले गलत प्रचार गर्नेहरू तथ्य र प्रमाणसहित आउन चुनौती दिएका छन्।

उनले भनेका छन्, ‘पार्टीभित्र उच्चतम एकता कायम गर्दै संसदीय दलको सर्वसम्मत बैठकबाट जेएन थपलियालाई संसदीय दलको नेता कायम राख्दै किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने समझदारी भएपछि, विरोध गर्ने कुनै आधार नपाएर केपी शर्मा ओलीको बसोबास व्यवस्थापनलाई लिएर किरणले मुख्यमन्त्री पद पाएको भन्ने झुटा हल्ला फैलाइएको छ।’

नेकपा एमाले, नेकपा र राप्रपाको समर्थन थापा मुख्यमन्त्री नियुक्त भएपनि केही असन्तुष्ट पक्षहरूले गलत रूपमा प्रस्तुत गर्दै भ्रम फैलाउने प्रयास गरिरहेको दाबी गरेका छन्।

भदौ २४ गतेको जेनजी आन्दोलनपछि ओलीलाई गुण्डुस्थित विष्णु श्रेष्ठको घर भाडामा लिएर अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको उनको भनाइ छ।

उनले थपेका छन्, ‘अहिले नेकपा एमाले र नेकपाबीच कार्यगत एकता गर्ने सहमति भएसँगै प्रदेश तहमा सरकार निर्माणको प्रक्रिया अघि बढेको छ। सोही क्रममा बागमती प्रदेश सरकार गठन तथा नेतृत्वको विषयमा संसदीय दलका नेता जेएन थपलियाविरुद्ध अविश्वासको प्रस्तावसम्बन्धी छलफलका क्रममा हुँदै नभएका कुरा अध्यक्षले हप्काएको, उहाँ लडेको, ढलेको, बेहोस भएको जस्ता पूर्णतः काल्पनिक र भ्रामक प्रचारसमेत गरिएको छ।’

एमाले लाखौँ समर्थक, शुभचिन्तक र कार्यकर्ता भएको पार्टी भएकाले अध्यक्षको बसोबास व्यवस्थापन गर्नु सामान्य र मानवीय जिम्मेवारी भएको बताएका छन्।

ranechhap