काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँग मिलेर ठुला सरकारी अस्पताल तथा कलेजका क्यान्टिनहरूमा अनुगमन गरेको छ।
संयुक्त अनुगमन टोलीले यो साता ठुला अस्पताल र कलेजको क्यान्टिनमा अनुगमन गरी कैफियत भेटिएका व्यवसायीहरूलाई सुधारका लागि आवश्यक निर्देशन दिएको छ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)को महाराजगन्जस्थित ‘एम.बि. चमेना गृह’ को निरीक्षण गरेको थियो।
निरीक्षणका क्रममा उक्त चमेना गृहमा केही पकाएका खाद्य वस्तुहरू खुला रूपमा नछोपी भण्डारण गरिएको, कीट व्यवस्थापनका लागि बाह्य पेस्ट व्यवस्थापकलाई जिम्मा दिइएको भए पनि प्रभावकारी रूपमा पेस्ट कन्ट्रोल नभएको र फोहरदानीको व्यवस्था भए पनि त्यसको सही प्रयोग नभएको पाइएको थियो।
साथै खाना तयार गर्ने स्थान र भाँडा सफा गर्ने ठाउँ सँगै रहेको र भान्साको सरसफाइ सामान्य अवस्थामा रहेको पाइएको थियो । यद्यपि त्यहाँ खाना बनाउन जार र बोतलको पानी प्रयोग गरिएको र कृत्रिम खाद्य रङको प्रयोग नगरिएको सकारात्मक पक्ष देखिएको विभागले जनाएको छ ।
अनुगमन टोलीले उक्त चमेना गृहलाई नियमित सरसफाइ गर्न, खुट्टाले खोल्न मिल्ने फोहरदानी प्रयोग गर्न, तयारी खाना उचित तापक्रममा भण्डारण गर्न, र स्वीकृत उद्योगबाट उत्पादित पूर्ण लेबल भएका खाद्य वस्तु मात्र प्रयोग गर्न निर्देशन दिएको छ।
यस्तै वीर अस्पताल परिसरमा सञ्चालित ‘गुजेश्वरी होटल प्राइभेट लिमिटेड’ (वीर अस्पताल क्यान्टिन) को पनि अनुगमन गरेको थियो। त्यहाँको भान्सा साँघुरो र खाना बनाउने ठाउँ अपर्याप्त रहेको, सरसफाइ सामान्य रहेको, र पेस्ट कन्ट्रोल तथा एक्जस्ट पंखाको व्यवस्था प्रभावकारी नभएको पाइएको थियो ।
यद्यपि, खाना पकाउने तेलको गुणस्तर परीक्षण गर्दा त्यसको ‘टीपीएम’ मान १२.५ प्रतिशत रहेकाले त्यो मापदण्ड अनुकूल नै पाइएको विभागले जनाएको छ। अनुगमन टोलीले उक्त क्यान्टिनलाई भान्साको भौतिक तथा संरचनात्मक सुधार गर्न, पेस्ट कन्ट्रोल र एक्जस्ट प्रणाली प्रभावकारी बनाउन र तयारी खाना उचित तापक्रममा राख्न निर्देशन दिएको छ ।
यस्तै यही साता थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सञ्चालित ‘मनकामना रिसब क्यान्टिन’ को निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा त्यहाँ कृत्रिम खाद्य रङको अव्यवस्थित प्रयोग भएको, प्रवेशद्वार छेउको भौतिक संरचना अत्यन्त जीर्ण रहेको, र पेस्ट कन्ट्रोल तथा फोहरदानीको व्यवस्था सन्तोषजनक नभएको पाइएको थियो । साथै खुला रूपमा खाना भण्डारण गरिएको र उपभोग्य मिति समाप्त भइसकेका ६ प्याकेट (प्रति प्याकेट १ केजी) चाउमिन भण्डारण गरी राखिएको भेटिएकाले टोलीले उक्त अखाद्य चाउमिन तत्काल नष्ट गरेको छ।
सो क्यान्टिनको तेलको टीपीएम मान १६.५ प्रतिशत पाइएकाले तेल भने मापदण्ड अनुकूल नै रहेको देखिएको थियो । अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई नियमित सरसफाइ गर्न, जीर्ण भौतिक संरचना सुधार गर्न, र अनुमतिप्राप्त उद्योगबाट उत्पादित पूर्ण लेबल भएका खाद्य सामग्री मात्र प्रयोग गर्न कडा निर्देशन दिएको छ ।
काठमाडौँको सेन्ट जेभियर्स कलेजको क्यान्टिन ‘सिवास् फुड क्याटरिङ सर्भिसेज’ मा पनि अनुगमन गरेको थियो । उक्त कलेज क्यान्टिनमा अनुज्ञापत्र नलिएका उद्योगबाट उत्पादित र पूर्ण लेबल विवरण नभएका प्रशोधित खाद्य वस्तुहरू प्रयोग भइरहेको पाइएको थियो ।
त्यहाँको सरसफाइ र पेस्ट कन्ट्रोलको अवस्था सामान्य रहेको तथा तेलको टीपीएम मान १६.५ प्रतिशत रहेकाले त्यो मापदण्ड अनुसार नै रहेको पाइएको थियो। टोलीले कलेज क्यान्टिनलाई खाद्य स्वच्छता कायम राख्न, पेस्ट कन्ट्रोल र एक्जस्ट प्रणाली थप प्रभावकारी बनाउन, तयारी खाना उचित तापक्रममा भण्डारण गर्न र अनिवार्य रूपमा अनुमतिप्राप्त तथा पूर्ण लेबल भएका खाद्य वस्तु मात्र प्रयोग गर्न निर्देशन दिएको छ।








































