सप्तरी। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ।
अस्पतालले बिहीबार विज्ञप्ति जारी गरी भदौ २४ गते बिहान करिब दुई बजे प्रसव व्यथा लागेर आएकी ३० वर्षीया बबिता कुमारी पासवानलाई प्रारम्भिक जाँच गरी प्रसूति वार्डको बेड नं. २४ मा भर्ना गरिएको थियो।
आवश्यक जाँचको रिपोर्ट नभएकाले जाँच गराउन सुझाव दिइएको र तत्पश्चात् बिरामी शैयामा नरहेको अवस्थामा बिहान पौने बजे गेटबाहिर प्रसूति भएको जानकारी प्राप्त भएको अस्पतालले जनाएको छ।
प्रसूतिपछि आमा र शिशुलाई पुनः प्रसूति वार्डमा ल्याई स्वास्थ्यकर्मीले नाल काटी उपचार तथा स्याहारका लागि अस्पतालमै रहन आग्रह गरे पनि उनीहरू बाहिरिएका थिए।
हाल भने आमा बबिता कुमारी पासवान र नवजात शिशु दुवैलाई अस्पतालको बेड नम्बर २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ।
दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने अस्पतालले उनीहरूको सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा आवश्यक सेवाहरू निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
अस्पताल प्रशासनले गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनुलाई अत्यन्तै संवेदनशील र गम्भीर विषय मान्दै सत्यतथ्य पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुन अनुसार कारबाही गरिने र बाह्य छानबिन समिति गठन भएमा पनि पूर्ण सहयोग गर्ने अस्पतालले स्पष्ट पारेको छ।
साथै, वास्तविक तथ्य बाहिर नआएसम्म सम्पूर्ण सरोकारवाला तथा नागरिकहरूलाई संयमित भई सत्यतथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न अस्पतालले अनुरोध गरेको छ।








































