काठमाडौँ। प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न वित्तीय ऐनहरूलाई संशोधन गर्न बनेका तीन वटा विधेयक पेस गरेका छन्।
आजको बैठकको कार्यसूची अनुसार अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष, भुक्तानी तथा फर्स्यौट र कर्मचारी सञ्चय कोषसँग सम्बन्धित विधेयकहरू प्रस्तुत गरेका हुन्।
वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई संसद्मा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गरेका थिए। सदनबाट अनुमति प्राप्त भएपछि उनले ती दुवै विधेयक सभामा प्रस्तुत गरे।
त्यस्तै, अर्थमन्त्री डा. वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरेका छन्।







































