सुर्खेत । खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नविन शाही निर्वाचित भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न साधारण सभाले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
मञ्चको उपाध्यक्ष रमा केसी, सचिवमा अप्सरा विष्ट, कोषाध्यक्षमा सिर्जना बुढाथोकी, सहकोषाध्यक्षमा नविन सुवेदी निर्वाचित भए ।
राकेश पौडेल (तिलक), टेकराज केसी, भावना राना र मिलन श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । साधारणसभामा निवर्तमान अध्यक्ष भानुभक्त अधिकारीले खेलकुद पत्रकारिताको महत्व र जिम्मेवारी लगायतका विषयमा प्रष्ट पारेका थिए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले कर्णालीमा खेलाडीहरूको राष्ट्रिय स्तरमा पुर्याउने र खेलाडीको प्रोफाइल निर्माण लगायतका गतिविधिमा नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य नविन लुइँटेलले आसन्न दिनमा सुर्खेतमा हुन गरिरहेको दशौँ राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका रहने बताए । उनले समग्र खेलकुद र खेलाडीको वृद्धि विकासमा खेलकुद पत्रकारको महत्वपूर्ण योगदान रहेको बताउँदै सुर्खेतमा खेल पत्रकारिताको विकासका लागि क्षमता अभिवृद्धि तालिम, फेलोसिप लगायतका गतिविधि सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले मोफसलमा रहेर विधागत पत्रकारिता गर्न कठिन रहेको बताउँदै पछिल्लो समय सरकारले नै लोककल्याणकारी विज्ञापन रोकेर पत्रकारिता, मिडिया हाउस बन्द गराउनतिर लागेको टिप्पणी गरे ।









































