काठमाडौँ । राष्ट्रियसभाका सदस्य वासुदेव घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा धार्मिक पर्यटन, कृषि आत्मनिर्भरता र खानी उत्खननलाई विशेष प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। बुधवार सङ्घीय संसद् सचिवालयमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग भएको छलफलमा भाग लिँदै सांसद घिमिरेले ठोस योजनासहित बजेट ल्याउन सुझाव दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति तथा कार्यक्रममा सांसद घिमिरेले नेपाललाई ‘देवभूमि’ बनाउने सरकारको प्रस्ताव राम्रो भएको तर त्यसमा गोसाइकुण्ड छुट्न नहुने बताए ।
‘नेपालको चार धाममध्ये एक मानिने रसुवाको गोसाइकुण्डलाई पनि बजेट र कार्यक्रममा समेट्नुपर्छ,’ उनले भने । उनले स्वर्गद्वारी, खप्तड र दाङको धारपानी जस्ता धार्मिक स्थलहरूलाई जोडेर ‘धार्मिक सर्किट’ विकास गर्न र लुम्बिनीको राजधानी देउखुरीमा विमानस्थल निर्माणका लागि बजेट व्यवस्था गर्न माग गरे ।
कृषि, वन तथा वातावरण मन्त्रालयका पदाधिकारीहरूलाई उनले आयात प्रतिस्थापनमा जोड दिए । नेपाल दूध र मासुमा आत्मनिर्भर भइसकेको उल्लेख गर्दै उनले छिमेकी मुलुकबाट हुने यस्ता वस्तुको आयातमा पूर्ण बन्देज लगाउनुपर्ने बताए ।
साथै, फलफूल खेतीमा किसानलाई अनुदान दिएर एक वर्षभित्रै आत्मनिर्भर बन्न सकिने उनको दाबी छ । चुरे संरक्षणमा बजेट केन्द्रित गर्न र स्वदेशी काठको प्रयोगमा रहेका कानुनी बाधा हटाउन पनि उनले सुझाव दिए ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको बजेट सम्बन्धमा बोल्दै उनले सरकारको नीति विदेश पलायन रोक्ने खालको हुनुपर्नेमा जोड दिए। नीतिमा एउटा र व्यवहारमा अर्कै देखिने गरेको भन्दै उनले स्वदेशमै ८० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य भेट्टाउने गरी बजेट ल्याउन माग गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धमा उनले दैलेखको पेट्रोलियम पदार्थ र नवलपरासीको फलाम खानी उत्खननलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । यी आयोजनाहरूका लागि पर्याप्त बजेट विनियोजन गरेमा देशको अर्थतन्त्रमा दीर्घकालीन सुधार आउने उनको भनाइ छ ।
बैठकमा उद्योग, कृषि, श्रम र पर्यटन मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।









































