कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रामेश्वर चौधरी १० लाख धरौटी बुझाएर रिहा भएका छन् । कृषिमन्त्री हुँदा किसानलाई पावर टिलर दिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत बर्दियाले उनीसँग १० लाख धरौटी माग गरेको थियो । ३० गते जिल्ला अदालतले धरौटी आदेश गरे पनि पूर्वमन्त्री चौधरीले ३१ गते मात्रै धरौटी बुझाएर रिहा भएका थिए ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् । सुरो नेपाल नामक एक संस्थाले बर्दियाको बारबर्दिया गाउँपालिकामा अनुदानमा किसानलाई पावर टिलर ट्र्याक्टर दिने भन्दै रकम उठाएको थियो ।
किसानहरूले सुरो नेपालकी सुशीला खड्काको खातामा ५७ लाख रुपैयाँ जम्मा गरेको र मन्त्री चौधरीलाई १७ लाख रुपैयाँ दिएको आरोप लगाउँदै आएका छन् ।
२०८२ भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उनीहरूविरुद्ध उजुरी दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धानपछि २०८३ वैशाख १८ गते जिल्ला अदालत बर्दियामा पूर्वमन्त्री चौधरी, सुरो नेपालकी खड्कासहित अन्य दुई जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अदालतले २० गते खड्कालाई र ३० गते चौधरीलाई १० लाख धरौटी माग गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश पार्कीले जानकारी दिए । उनका अनुसार १० लाख धरौटी तिर्न नसकेर खड्का अहिले पनि कारागारमा छिन् भने पूर्वमन्त्री चौधरीले अर्को दिन धरौटी तिरेर रिहा भएका हुन् ।
स्थानीय किसानहरूले ५७ लाख रूपैयाँ खातामा पठाएको र १७ लाख रूपैयाँ मन्त्रीलाई दिएको आरोप लगाइरहेको प्रहरीको भनाइ छ । मन्त्री चौधरीले केही रकम फिर्ता गरेको तथा बाँकी रकम फिर्ता गर्न आनाकानी गरेपछि विवाद बढ्दै गएको प्रहरीले जनाएको छ ।
यता मन्त्री चौधरीले भने आफूले कसैसँग पैसा नलिएको दाबी गरेका छन् ।
‘मैले कसैसँग रकम लिएको छैन,फिर्ता गरेको पनि छैन । मलाई राजनीतिक प्रतिशोधका आधारमा फसाइएको हो,’ उनले भने ।








































