वि.सं.२०८३ वैशाख ६ आइतवार

संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई सक्रिय भूमिकाबाट बाहिरिन दबाब, निर्णय नगरी बैठक नै स्थगित

khanepani

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक बस्न थालेको एक महिना पुग्न लाग्दा पनि निर्णय आउन सकेको छैन ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको लज्जास्पद परिणाम आएपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले चैत १९ गते बैठक बोलाएका थिए । बैठकमा संयोजक प्रचण्डले चुनावी समीक्षासम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

प्रतिवेदनमाथि चैत २३ गतेदेखि २८ गतेसम्म सदस्यहरूले ४० जना सदस्यहरूले लिखित र मौखिक धारणा राखेपछि वैशाख ३ गतेसम्म बैठक स्थगित गरियो । संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले उठेका प्रश्नको जवाफ दिएपछि हिजो (शनिवार) निर्णय सार्वजनिक गर्ने नेताहरूले बताएका थिए । तर बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक अन्तिम सयमा तयारी नपुगेको कारण देखाउँदै स्थगित गरियो । केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले तयारी नपुगेकाले बैठक स्थगित भएको जानकारी दिए । अर्को बैठक १० गतेतिर बस्नसक्ने उनको भनाइ छ ।

‘तयारी नपुगेकाले बैठक स्थगित भएको हो । आन्तरिक गृहकार्य पनि गर्नुपर्नेछ । त्यसैले १० गतेतिर बैठक बस्ला’, पुनले भने ।

कार्य संयोजन समितिका सदस्य चक्रपाणि खनाल ‘बलदेव’ ले पनि नेताहरूको कार्य विभाजन, केन्द्रीय सचिवालय गठन, भावी कार्यक्रमको विषयमा गृहकार्य नपुगेकाले बैठक स्थगित भएको जानकारी दिए । विधान बमोजिम केन्द्रीय कार्य समितिको पूर्णता पाउने सम्भावना कम रहेको उनले बताए ।

‘महाधिवेशनको मिति नै घोषणा गरेर जने भएपछि केन्द्रीय कार्यसमिति बनाउन आवश्यक छैन भन्ने पनि मत आएको छ । विधान बमोजिम अहिले नै सबै समितिलाई पूर्णता दिएर जानुपर्छ भन्ने मत पनि रहेको छ । अहिले सचिवालय गठन र कार्य संयोजन समितिमा रहेका नेताहरूको कार्य विभाजन हुने सम्भावना छ’, बलदेवले भने ।

नेकपामा एक साताको बहसबाट निस्किएन निष्कर्ष, नयाँ वर्षमा कस्तो आउला निर्णय ?

नेकपामा एक साताको बहसबाट निस्किएन निष्कर्ष, नयाँ वर्षमा कस्तो आउला निर्णय ?

केन्द्रीय सचिवालय, केन्द्रीय संयोजन समिति र केन्द्रीय समितिमा कम्तीमा ५० प्रतिशत युवाहरूलाई ल्याउनुपर्ने दबाब बढिरहेको बेला उनीहरूको माग अहिले नै सम्बोधन हुने सम्भावना न्यून रहेको उनको बुझाइ छ । संयोजन समितिमा रहेका नेताहरूको मात्र जिम्मेवारी बाँडफाँट हुन सक्ने बलदेवको भनाइ छ ।

नेकपाका युवाहरू दुई समुहमा बाडिएका छन् । युवराज दुलाल, माधव सापकोटा, सरल सहयात्री लगायत पार्टीलाई विधि, पद्धति र प्रक्रियामा लगेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा उभिएका छन् । रामप्रसाद सापकोटा, रञ्जित तामाङ लगायत युवा नेताहरू तत्कालै नेतृत्व तहमा युवाहरूलाई स्थान दिनुपर्ने पक्षमा देखिएको अर्का एक नेता जानकारी दिए ।

‘युवाहरूमा पनि दुई थरीको कुरा आएका छन् । एक थरीले पार्टीले पहिला विधि, पद्धति र मापदण्ड बनाएर सबैलाई समेट्ने गरी जानुपर्छ भनेका छन् । एक थरीले तत्कालै हस्तान्तरण हुनुपर्छ । पुराना नेताले पार्टी हाँक्न सक्दैन । युवालाई नेतृत्वमा आउने वातावरण बनाउनुपर्छ भन्ने धारणा राखेका छन् । यी सबै विचारलाई समेट्ने गरी गृहकार्य भइराखेको छ’, ती नेताले भने ।

पार्टीका केही विद्यार्थी नेताहरूले संयोजन समिति सल्लाहकार समूह जस्तो भएकाले केन्द्रदेखि तल्लो समितिसम्म ६० प्रतिशत युवाहरूलाई स्थान दिनुपर्ने माग राख्दै केन्द्रीय कार्यालयमा अनसन बसेका छन् ।

यद्यपि सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद तथा युवा नेता युवराज दुलाल तत्कालै नेतृत्वले ठाउँ छोड्नुपर्छ भन्ने पक्षमा आफू नभएको बताए ।

‘पार्टीले एउटा विधि, पद्धति र मापदण्ड बनाएर युवाहरूको प्रतिनिधित्व गर्नुपर्छ । केन्द्रीय संयोजन समितिमा पनि सातै प्रदेशबाट एक÷एक जना प्रतिनिधित्व गराउन गृहकार्य गरेको हो तर सम्भव भएको छैन’, दुलालले भने, ‘विधि र पद्धति नबनाईकन नेताहरूले नै मनोनीत गरेर गयौँ भने हामीले पनि केही गर्न सक्दैनौँ । यसै ढिला उसै ढिला संयोजन समितिले महाधिवेशनको प्रस्ताव ल्याओस् । महाधिवेशनले नै विधि, पद्धति र मापदण्ड बनाउँछ । त्यसबाट जो निर्वाचित भएर आउँछ सबैले मान्नुपर्छ ।’

यता अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष तथा युवा नेता रञ्जित तामाङ पार्टी रूपान्तरण सहित पुस्तान्तरण हुनुपर्छ भन्ने आम युवाको भावना भएको बताउँछन् । त्यही अनुसार आफूले पार्टी भित्र र बाहिरका वामवन्थी दलहरूसँग छलफलमै रहेको उनले जानकारी दिए ।

‘हामीले तत्कालै युवालाई हस्तान्तरण गर्नुपर्छ भनेको होइन । तर अहिले नाम फेरि फेरि कार्य संयोजन समितिको बैठक बसेको छ । त्यसले निकास दिन सक्दैन । तत्काल केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनमा जाने वातावरण बनाउनुपर्छ’, तामाङले भने ।

संयोजन समितिका सदस्य बलदेवले अब कम्युनिस्ट पार्टी यथास्थितिबाट अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै आफंले वामपन्थी आन्दोलन सुधारका लागि चार वटा प्रस्ताव बैठकमा पेस गरेका थिए ।

पहिलो प्रस्ताव १२ बुँदेदेखि संविधान निर्माणसम्मका दलहरूसँग कुनै न कुनै सहकार्य र मोर्चा बनाएर जाउँ भन्ने रहेको छ । विपक्षमा मोर्चाबन्दी गर्दा अहिलेको सरकारसँग बार्गेनिङ र असहयोग नगरी सरकारले गरेका राम्रो कामको समर्थन गर्ने, नराम्रो कामका रचनात्मक रूपमा आलोचना गर्ने उनको सुझाव छ ।

दोस्रो प्रस्ताव सङ्गठनलाई पुरै सुधार गरेर लैजाने रहेको छ । त्यसका लागि चार तहको पार्टी नेताहरूको जिम्मेवारी व्यापक हेरफेर गर्ने रहेको छ ।

‘माधव र झलनाथजी सल्लाहकारमा जाने । प्रचण्ड र नारायणकाजी संरक्षक बस्ने । विधानमै यस्तो सेट गर्छौँ । जतिबेला पनि उहाँहरू कदम चाल्न सक्ने व्यवस्था गरेपछि हुन्छ’, उनले भने ।

तेस्रो प्रस्ताव तेस्रो पुस्ता, जो निकै सक्रिय छन् । उनीहरूको नेतृत्व युवाहरूलाई स्वीकार्य नभए को–अर्डिनेसनको जिम्मेवारी दिने रहेको छ । बलदेव भने, ‘युवाहरूले भनेजस्तो पुग्दैन भने हामी को–अर्डिनेसनको काम गर्छौँ । त्यो भनेको मोर्चा, २/३ प्रदेशको को–अर्डिनेसन गर्छौँ । हामी बाहिरी तर महत्त्वपूर्ण भूमिकामा हामी हुन्छौँ ।’

चौथो प्रस्ताव युवाहरूलाई अहिले नै नेतृत्वको जिम्मेवारी दिन सकिँदैन भने प्रदेशको इन्चार्ज र अध्यक्ष बनाउने रहेको छ । यसो गर्दा लेनिनकालीन सङ्गठनात्मक सिद्धान्तलाई विकास गर्न सकिएन भने कुनै अर्थ नभएको उनको तर्क छ ।

‘यसो गर्दा लेनिनवादी सिद्धान्तलाई आधारभूत रूपमा टेकिरहने तर त्यसमा थप विकास गर्न सकिँदैन भने कुनै अर्थ छैन । त्यसको विकास भनेका नयाँलाई जिम्मा दिने । अहिलेको समय सापेक्ष पुरानै ढङ्गले रटिरटाऊ नगरेर सङ्गठनलाई बहुआयमीक ढङ्गले अगाडि बढाउन सकिन्छ’, उनले भने ।

अहिले यति गरेर जान सकिएमा महाधिवेशनसम्म जाँदा यी सबै प्रक्रिया पुरा हुने र ५० प्रतिशत युवाहरूलाई पार्टी नेतृत्व तहसम्म स्थान दिने बलदेवको बुझाइ छ ।

बलदेवले भने, ‘महाधिवेशन भएको एक वर्षमा हुने राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा नेतृत्व पनि नयाँ आउने ढङ्गले अगाडि बढ्ने । डेपुटी तथा कमिस्सार भएका व्यक्ति एउटा प्राधिकार हुन्छ । त्यसको महासचिव भएर एउटाले चलाउँछ । यसरी जान सकिएमा पार्टीलाई सुधार गर्न सकिन्छ ।’

अर्को कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने पक्षमा उनको प्रस्ताव छ । पुनर्गठनको पक्षमा तत्काल एमाले, माओवादी लगायत अन्य वामपन्थी घटकलाई एक ठाउँमा ल्याउन नसकिएपनि पछिल्लो जनमतलाई बढाएर लान सकिने बलदेवको विश्वास देखिन्छ ।

‘अहिले सबै कम्युनिस्ट एक ठाउँमा आइहाल्छन् भन्ने छैन । आन्दोलन पुनर्गठन गर्‍यौँ भने अझै पनि २२ लाख मत हाम्रो छ । त्यसलाई बढाउन सक्छौँ’, उनले भने, ‘पुनर्गठनको सर्त नेतृत्वको सवाल, आइडोलोजिको सवाल र संगठनको सवाल हुन सक्छ । यी सबैलाई व्यवस्थापन गरेर समय सापेक्ष सुहाउँदो बनाउनु पर्छ ।’

अहिलेको चुनाव एक पक्ष डिजिटल वारमा गएको र आफूहरू म्यानुअल वारमा एकाले पराजित भएको उनको निष्कर्ष छ । यी बिचको खाडललाई पुर्न पनि कम्युनिस्ट आन्दोलन पुनर्गठन हुन जरुरी भएको बलदेवको भनाइ छ ।

ranechhap