काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे प्रस्टीकरण दिएको छ ।
निगमका अनुसार क्रूड आयल (कच्चा तेल) को मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगो रहेको भन्ने विश्लेषण सही होइन ।
निगमका प्रवक्ता मनोज ठाकुरले नेपालमा आफ्नै रिफाइनरी नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।
‘क्रूड आयल भन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले मूल्य तुलना गर्दा क्रूड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ,’ उनले भने । नेपालले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । भारतले पठाउने मूल्य प्रशोधित पेट्रोल र डिजेलको १५ दिनको औसत अन्तर्राष्ट्रिय मूल्यका आधारमा तय हुने भएकाले नेपालमा मूल्य समायोजन पनि सोही आधारमा हुने गरेको ठाकुर बताउँछन् ।
तथ्यांक अनुसार १६ अप्रिल २०२६ ९३ वैशाख २०८३० मा क्रूड आयलको मूल्य प्रति ब्यारेल ९९.६ अमेरिकी डलर हुँदा पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो ।
यस अवधिमा सबै भन्दा उच्च मूल्य २ अप्रिल २०२६ मा पुगेको थियो, जहाँ क्रूड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रतिब्यारेल पुगेको देखिन्छ ।
सामान्य अवस्थामा क्रूड आयल र पेट्रोलबिच करिब १० डलर तथा क्रूड आयल र डिजेलबिच करिब २० डलरको अन्तर रहने भए पनि पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ ।
भन्सार, कर, ढुवानी, बिमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्ने हुँदा देश अनुसार इन्धनको मूल्य फरक फरक हुने निगमले जनाएको छ ।







































