काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणनामा ओखलढुङ्गाबाट ५ भोटको मतान्तरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भए । यो निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये अत्यन्त झिनो (५ मत) को अन्तरमा हारजित भएका कारण पनि ओखलढुङ्गाको मतपरिणाम यो पटक धेरैका लागि चासोको विषय बन्न पुग्यो । ५ मतले पछि पर्दा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई संसद् छिर्ने बाटो बन्द हुँदै उपविजेतामा चित्त बुझाउनुपर्ने बाध्यता आइलाग्यो ।
सार्वजनिक नतिजामा पोखरेल र लुइँटेलबिचको प्रत्यक्षतर्फको प्रतिस्पर्धामा ५ मतको मतान्तर देखिएपनि जिल्लामा पार्टीगत अर्थात समानुपातिकतर्फको मतान्तर अङ्क भने अश्वभाविक रूपमा फरक देखिन्छ । यसले के देखाउँछ भने मतदाताहरूले एउटै पार्टी र एउटै उम्मेदवारलाई मात्र मत दिन रुचाउँदैनन् ।
जबकि रास्वपा उम्मेदवार विश्वराज पोखरेलले पाएको मत १३ हजार ९५३ रहेको छ भने जिल्लामा खसेको समानुपातिक मत १७ हजार ६३९ रहेको छ । यो हिसावले हेर्दा प्रत्यक्षतर्फ पोखरेलले पाएको मतको तुलनामा समानुपातिकतर्फ रास्वपाले घण्टी चुनाव चिह्नमा पाएको १७ हजार ६३९ मतबाट पोखरेलले पाएको १३ हजार ९५३ मत घटाउँदा हुन आउने ३ हजार ६८६ मत घण्टी चुनाव चिह्नमा गएपनि त्यो मत उम्मेदवारलाई गएको देखिँदैन ।
यता नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले प्रत्यक्षतर्फ १३ हजार ९४८ मत ल्याएर उपविजेता बन्दा जिल्लामा कांग्रेसको समानुपातिक मत १२ हजार ८९१मात्र रहेको छ । कांग्रेस उम्मेदवारको तुलनामा जिल्लामा समानुपातिकतर्फको मत १ हजार ५७ मत कम आएको छ । त्यस्तै नेकपा एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत पाउँदा एमालेको समानुपातिक मत पनि घटेको छ । ओखलढुङ्गामा समानुपातिकतर्फ एमालेले ९ हजार २१० मत पाएको छ । यसरी हेर्दा एमाले र एमालेको उम्मेदवारबिचको मतान्तर १ हजार २१० देखिन्छ । जुन बढी मत उम्मेदवारको पक्षमा झरेपनि पार्टीको पक्षमा नझरेको देखिन्छ ।
अझ रोचक त जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार अम्बिरबाबु गुरुङले पाएको मतमा देखिन्छ । गुरुङले प्रत्यक्षतर्फ ११ हजार २९६ मत पाउँदा यो पार्टीको समानुपातिकतर्फ तारा चुनाव चिह्नमा खसेको मत ६ हजार ९६५ मात्र रहेको छ । यहाँ उम्मेदवार र पार्टीबिचको मतान्तर ४ हजार ३३१ रहेको छ ।
यसरी प्रत्यक्ष र समानुपातिकमा झर्ने मतमा फरक फरक हुनुले मतदातामा उम्मेदवारको व्यक्तिगत र पार्टीगत प्रभावले काम गरेको हुनसक्ने देखिएको छ ।









































