वि.सं.२०८३ वैशाख ३ बिहीवार

हामी असफल भए समग्र देशमै निराशा छाउँछ, यो जित होइन जिम्मेवारी हो : शिशिर खनाल

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद शिशिर खनालले चुनावमा प्राप्त मतलाई आफूहरूले जितको घमण्ड नभई देश रूपान्तरणको ठुलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्। तारकेश्वर नगरपालिकाका मतदातासँगको संवादमा उनले रास्वपा असफल भए स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा चरम निराशा छाउने भन्दै आफूहरू कामको परिणामप्रति अत्यन्त सजग रहेको स्पष्ट पारेका हुन् ।

देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान पार्टी प्रतिबद्ध रहेको बताउँदै खनालले आगामी एक हप्ताभित्र रास्वपाले सरकारमा कस्तो भूमिका खेल्ने र कुन आकार लिने भन्ने तय भइसक्ने जानकारी दिए। निर्वाचन जिते लगत्तै अन्य दलले जस्तो बाजागाजासहित विजय र्‍याली नगर्ने घोषणा गरेका उनले त्यसको संवेदनशीलता पनि प्रस्ट पारे।

‘पछिल्लो समय ज्यान गुमाएका ७६ जनाको शोकलाई सम्मान गर्दै हामीले विजय र्‍याली नगर्ने निर्णय गरेका हौँ,’ उनले भने,‘यसलाई हामीले विजयभन्दा पनि जिम्मेवारी र अवसर पाएको रूपमा लिएका छौँ, काम गर्ने यो अवसरलाई एक दिन पनि खेर फाल्दैनौँ।’

आगामी ५ वर्षसम्म जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहने उनले वाचा गरे। टोलटोलमा भेला गरेर नागरिकका गुनासा सुन्ने र ती समस्यालाई संसद्मा उठाएर समाधानका लागि निरन्तर पहल गर्ने उनले प्रतिबद्धता जनाए। मतदाताले दिएका समस्या संसद्मा उठाउने मात्र नभई जहाँसम्म पहल गर्नुपर्छ त्यहाँ आफैँ सँगसँगै उभिएर काम गर्ने खनालले आश्वस्त पारे।

जनताले दिएको अपार माया र विश्वासले आफूहरूलाई ठुलो जिम्मेवारीको भारी महसुस गराएको उनको भनाइ थियो। अरू पार्टी सकिए र अब हामी मात्रै हौँ भन्ने घमण्ड रास्वपामा नरहेको दाबी गर्दै उनले सबैको सम्मान गर्दै देश रूपान्तरणको काम तत्काल सुरु गर्ने बताए।

ranechhap