काठमाडौं । सुनसरी– १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् ।
प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ३३ हजार ५६५ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रास्वपाकी गोमा तामाङले २० हजार २३७ मत प्राप्त गरेकी छन् । साम्पाङले हालसम्म १३ हजार ३२८ मतले अग्रता बनाएका छन् ।
आफूले चुनाव जित्ने निश्चित भएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत् सदनमा जनताको प्रश्नमाथि उत्तर दिन सक्ने र समय दिन सक्ने नेतृत्व चाहिएको बताएका छन् ।
उनले झापा ५ बाट निर्वाचित बालेन शाहप्रति व्यग्य गर्दै यस्तो भनेका हुन् ।
आइतबार विहान सामाजिक सञ्जालमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ।’
उनले नबोल्ने मान्छेले प्रश्नको उत्तर विस्तारमा दिन नसक्ने भन्दै बालेनप्रति टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन् । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ।’
यस क्षेत्रका धरान उपमहानगरपालिका र बराह क्षेत्र नगरपालिकाका १, २ र ३ को मत गणना सकिएको छ भने अब बराहक्षेत्रको वडा नम्बर ४ र ५ तथा रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ को गणना हुन बाँकी रहेको छ ।









































