वि.सं.२०८३ असोज २ शुक्रवार

आयभन्दा २ करोड ३ लाख बढी खर्च: पद दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको ठहर

khanepani

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार डा. सापकोटाको २०५३ असार २५ देखि २०८० वैशाख ३० सम्मको सम्पत्ति तथा आय–व्यय जाँच गरिएको थियो। जाँचका क्रममा उनी र एकासगोल परिवारका सदस्यले विभिन्न स्रोतबाट ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा वैधानिक आय आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण तथा घरजग्गा खरिद, सेयर खरिद, सवारीसाधन खरिद, ऋण भुक्तानी, बिमा, अध्ययन, सुन तथा विद्युतीय उपकरण खरिद, विदेश भ्रमण, घरबहाललगायत विभिन्न शीर्षकमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगको दाबी छ ।

आयोगका अनुसार वैधानिक आयको तुलनामा खर्च तथा लगानी २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बढी देखिएको छ। उक्त रकमको वैध स्रोत पुष्टि गर्न नसकेको भन्दै आयोगले डा. सापकोटाले पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो ।

आयोगले डा. सापकोटाले वास्तविक सम्पत्तिको विवरण नदिई सम्पत्ति लुकाएको तथा झुट्टा विवरण पेस गरेको समेत आरोप लगाएको छ। सोही आधारमा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत, बिगो बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबी गरिएको छ ।

यसैगरी, डा. सापकोटाकी श्रीमती निरजा पण्डितलाई पनि प्रतिवादी कायम गरिएको छ। आयोगका अनुसार स्रोत नखुलेको सम्पत्तिबाट श्रीमतीको नाममा खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी बनाइएको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही र सम्पत्ति जफतको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

ranechhap