चितवन । रसुवा पहिरोले बगाएर ल्याएको शव व्यवस्थापन गरिएको स्थल चितवनको भरतपुर १, देवघाटको जङ्गलमा स्मृति पार्क बनाउने पहल गरिएको छ ।
चितवनको देवघाट स्थित जङ्गलमा पहिचान हुन नसकेका र पहिचान भएर पनि आफन्तको जिम्मा नलगाइएका ३ सय ५१ वटा शव व्यवस्थापन गरिएको छ ।
उक्त शव भएको स्थानमा यो घटनाको स्मृति, आफन्तहरुलाई आएर सुस्ताउने ठाउँ र विश्व समुदायलाई के भएको थियो भन्नेबारेमा अभिलेखीकरण हुनेगरि पार्क बनाउने पहल गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
आज चितवनमा एक कार्यक्रम गरि पार्कको डिजाइन सार्वजनिक गरिएको छ । सघन सहरी विकास कार्यालयका इन्जिनियर दीपज्योति श्रेष्ठले डिजाइन सार्वजनिक गर्दै ५ प्रभावित जिल्लाको विम्ब आउने गरि पार्कको डिजाइन गरिएको बताए ।
उनले पार्कको मुख्य स्थलमा रसुवाको लेन्दोखालादेखि बाढीले बगाउँदै ल्याएको ढुङ्गालाई शालिग्रामको प्रतिकको रुपमा स्थापित गर्ने, शवहरुको माथि सिम्बोल नम्बरसहितको चिनिने स्थल बनाउने, पाँचवटा प्रतिक्षालय निर्माण गर्ने लगायतका डिजाइन गरिएको उनले बताए । त्यसैगरि आफन्त वा पार्क अवलोकन गर्न जानेले रसुवाको लेन्देखोला हुँदै कसरी चितवनको गोलाघाटसम्म बाढी आइपुग्यो अवलोकन गर्न पाउने गरि डार्क रुम पनि पार्कको डिजाइनमा समेटिएको छ ।
इन्जिनियर श्रेष्ठका अनुसार पार्क निर्माण गर्दा जङ्गल क्षेत्रको एउटा पनि रुख कटान गरिने छैन । सबै रुख जोगाएर सकेसम्म कम संरचना निर्माण गर्ने तयारी गरिएको छ ।
३ करोड लागतको प्रारम्भिक अनुमान गरिएको उक्त पार्क निर्माणको सुरुआतमा जिल्ला विपत व्यवस्थापन समितिले समन्वय गरेपनि पार्कको निर्माण र व्यवस्थापन भने नागरिक तहबाट हुनेगरि तयारी गरिएको छ । कार्यक्रममा व्यवस्थापन समिति, आर्थिक संकलन तथा सल्लाहकार समिति समेत गठन गरिएको थियो ।







































