काठमाडौँ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई थुनामा राख्न केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
काठमाडौँ जिल्ला अदालतले दुईवटा बैंकिङ कसुर मुद्दामा तोकेको २२ लाख रुपियाँ धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चालान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
बिहीबार काठमाडौँ जिल्ला अदालतले तामाङविरुद्धका दुईवटा बैंकिङ कसुरका मुद्दाहरूमा क्रमशः १६ लाख र ६ लाख रुपियाँ धरौटी माग गर्ने आदेश दिएको थियो।
भदौ २९ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर निस्कने क्रममा प्रहरीले उनलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको थियो। प्रहरी रेकर्डअनुसार तामाङविरुद्ध १० वटा फौजदारी मुद्दा दर्ता भएका छन्।
काठमाडौँको नयाँबजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रा.लि. सञ्चालन गर्दै आएका तामाङमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै अन्य निकायले पनि ताकेता गरेका छन्।
दुईवटा मुद्दाको धरौटी नतिरेर कारागार चलान भएका तामाङलाई थप अनुसन्धानका लागि उपस्थित गराइदिन राजस्व न्यायाधीकरण र जिल्ला प्रहरी परिसर भक्तपुरले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेका छन्।







































