वि.सं.२०८३ असोज २ शुक्रवार

सुवा र नुवाकोटका टनेल तथा दुर्गम बस्तीमा सेनाको संयुक्त टोली परिचालित, ८ हजार ७ सयभन्दा बढी फौज कार्यक्षेत्रमा

बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार तीव्र: हवाई साधनबाट ४ हजारभन्दा बढीको उद्धार, टनेलमा खोजी जारी

khanepani

काठमाडौँ । बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाहरूमा नेपाली सेनासहितको टोलीले हवाई र जमिन दुवै माध्यमबाट खोज, उद्धार तथा राहत वितरण कार्यलाई तीव्रता दिएको छ। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बीच दुर्गम बस्तीहरूमा ड्रोन प्रविधिमार्फत राहत पुर्‍याउने तथा अवरुद्ध राजमार्ग र पुल खुलाउने प्रयास जारी छ।

नेपाली सेनाको हवाई साधनमार्फत प्रभावित इलाकाहरूबाट हालसम्म कुल ४ हजार १९५ जनाको सकुशल उद्धार गरिएको छ, जसमा ३ हजार ९१२ स्वदेशी र २८३ विदेशी नागरिक रहेका छन्। जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन हेलिकप्टरको निरन्तर प्रयोग भइरहेको छ।

उता जलविद्युत् आयोजनाका टनेल तथा पावर हाउस क्षेत्रमा पनि खोजी कार्य तीव्र पारिएको छ। माथिल्लो त्रिशूली-१ को अडिट-३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा फेला परेका ६ वटा र थप ७ वटा गरी हालसम्म कुल १३ वटा शव संयुक्त टोलीले बाहिर निकालेको छ। त्यस्तै त्रिशूली-३ ‘ए’ को टनेल तथा पावर हाउस क्षेत्रमा टोलीले खोजी गरिरहेको छ भने त्रिशूली-३ ‘बी’ मा तीनवटा एक्साभेटर र लोडर प्रयोग गरी उत्खनन गर्दा अहिलेसम्म केही फेला परेको छैन।

प्रभावित रसुवा र नुवाकोटका तुप्चे, सामरी भञ्ज्याङ, कालिकास्थान लगायतका स्थानमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ। सडक सम्पर्क टुटेका विकट ठाउँमा ड्रोनमार्फत रेकी गर्नुका साथै हालसम्म ३० हजार २७ किलोग्राम राहत सामग्री ढुवानी गरिएको छ। रसुवादेखि नवलपरासीसम्मका प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सैनिक खटिएर खोज, उद्धार, शव व्यवस्थापन र पीडित परिवारलाई आवश्यक सहयोग गरिरहेका छन्।

यसैबीच सेनाले सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्रबाट आज थप ६ जनासहित हालसम्म ३ हजार ९९६ जना घाइते तथा बिरामीले स्वास्थ्य सेवा पाएका छन्। बाढीले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार खण्ड खुलाउने काम भइरहेको छ भने बेत्रावती नदीमा सुरक्षा फौजले अस्थायी पुल निर्माण कार्यलाई तीव्रता दिएको छ।

ranechhap